नेपालको आर्थिक वृद्धिदर विश्व मै तेस्रो, भारतलाई पनि उछिन्यो
जेठ ३० । सन् २०१७ आर्थिक वर्ष ०७३-७४ मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ ।
यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत बजार मूल्यमा आर्थिक बृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धि दर हो । नेपालको आर्थिक वृद्धि विश्वको औसत २ दशमलव ७ प्रतिशतभन्दा ४ दशमलव ८ प्रतिशतले बढी हो ।
लोडसेडिङ अन्त्य, अनुकुल मौसम, भूकम्पपछिको पुनर्निर्माण तथा भारतको नाकाबन्दी हटेपछि सहज भएको व्यापारका कारण नेपालको आर्थिक वृद्धि उच्च भएको विश्व बैंकको ग्लोबल इकोनोमिक प्रस्पेक्टस प्रतिवेदनमा विश्लेषण छ ।
भारतलाई उछिन्यो नेपालले
नेपालको लगत्तै पछि भारत छ । सन् २०१७ मा भारतको आर्थिक वृद्धि ७ दशमलव २ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । निर्यात बृद्धि तथा सरकारी खर्च उच्च रुपमा बढेकाले भारतको आर्थिक वृद्धिदर सन्तोषजनक रहेको विश्व बैंकको ठहर छ ।
नयाँ पत्रिका