इतिहासमा आज

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको जन्म

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको जन्म


नेपालका ४० औं प्रधानमन्त्री शेरबहादुर देउवाको जन्म सन १९४६ जुन १३ अर्थात आजकै दिन पिता श्रीप्रसाद देउवा र माता द्रौपदीदेवी देउवाका जेठा छोरा डडेल्धुराको असीग्राम गाविस–५ रुवाखोलामा भएको थियो ।

२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघको संस्थापक सदस्य भई प्रजातान्त्रिक आन्दोलनमा होमिएका देउवा नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुन् ।

विसं २०२३ सालमा गठित तरुण–सभाको अध्यक्ष भएर काम गरेका उनी २०२८ असोज १ गतेदेखि २०३६ फागुन २९ गतेसम्म नेपाल विद्यार्थी संघको अध्यक्ष रहेका थिए । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट देउवा पार्टीको सभापति बनेका हुन् ।

२०४८ सालमा संसदीय चुनाव जितेपछि २०४८ देखि २०५१ सालसम्म देउवाले गिरिजाप्रसाद कोइराला सरकारमा गृहमन्त्रीको पद सम्हालेका थिए । २०५२ देखि २०६१ सम्मको एक दशकको छोटो अवधिभित्र देउवा मुलुकको तीनपटक प्रधानमन्त्री बने ।

देउवाले २०५१ साल र २०५६ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुराबाट चुनाव जिते । २०५१ सालमा गठन भएको नेकपा एमालेको अल्पमतको सरकार बीचमै ढलेपछि देउवा पहिलोपटक २०५२ साल भदौ २६ गते प्रधानमन्त्री निर्वाचित भए । दोस्रोपटक २०५८ साल साउन ७ गतेदेखि प्रधानमन्त्री बनेका देउवालाई १८ असोज २०५९ मा राजा ज्ञानेन्द्रले बर्खास्त गरे ।

तिनै राजा ज्ञानेन्द्रले देउवालाई २०६१ साल जेठ २१ गते प्रधानमन्त्री बनाए । पछि राजा ज्ञानेन्द्रले मुलुकमा ‘कू’ गरे, देउवालाई अपदस्थ गरे र आफैं मन्त्रीपरिषद्को अध्यक्ष बने ।

मुलुकको शासनसत्ता आफ्नो हातमा लिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले भ्रष्टाचार नियन्त्रण गर्ने भन्दै शाही आयोग गठन गरे । देउवा उक्त आयोगको निशानामा परे ।

भक्तबहादुर कोइराला अध्यक्ष रहेको भ्रष्टाचार नियन्त्रण शाही आयोगले देउवालाई मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ ग–यो । देउवासँगै तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई पनि शाही आयोगले पक्राउ गरेको थियो ।

देउवा र सिंह दुवैले शाही आयोग अवैधानिक भएको बताउँदै बयान दिन मानेनन् । सर्वोच्च अदालतले उक्त आयोगलाई खारेज गरिदिएपछि देउवा थुनामुक्त भएका थिए ।पार्टीभित्रको अन्तःसंघर्षका कारण देउवाले २०५९ सालमा कांग्रेस पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरी त्यसको सभापति बनेका थिए ।

दोस्रो जनआन्दोलन सम्पन्न भएपनि २०६४ सालमा उनले नेतृत्व गरेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) माउ पार्टीमा विलय भयो । सभापति देउवा प्रजातान्त्रिक पार्टीको अन्तर्राष्ट्रिय संगठन सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष र संगठनको एसिया क्षेत्रको अध्यक्षको भूमिकामा छन् ।

राजनीतिक संघर्षका क्रममा देउवाले पटक–पटक गरेर नौ वर्ष जेलजीवन बिताएका छन् ।  त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका देउवा सन् १९८८–८९ मा बेलायतको लन्डन स्कूल अफ इकोनोमिक्समा राजनीतिशास्त्र विषयको रिसर्च फेलो हुन् ।

देउवाकी पत्नी डा. आरजु देउवा सांसद छिन् । देउवाका एकमात्र सन्तान जयवीर देउवा हुन् ।

विशेष