Technology

नेपाल प्रहरीद्वारा डिजिटल सिग्नेचर प्रविधिको सुरुवात

नेपाल प्रहरीद्वारा डिजिटल सिग्नेचर प्रविधिको सुरुवात

असार – १ । नेपाल प्रहरीले विहीबारबाट डिजिटल सिग्नेचर पद्धति सञ्चालन गरेको छ । नेपाल प्रहरीले कार्यालय सञ्चालन पद्धतीलाई ब्यवस्थित र प्रभावकारी बनाउन डिजिटल सिग्नेचर प्रविधि सुरु गरेको हो ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बिहिबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा सो प्रविधिको उद्घाटन गरेका हुने । उद्घाटनका त्रमा उनले महानगरीय प्रहरी कार्यालय र पाँच वटै क्षेत्रीय प्रहरी कार्यालयहरुमा डिजीटल सिग्नेचरसहितको सञ्चार पठाएका थिए । साथै प्रहरी महानिरीक्षक अर्याललाई नेपाल सर्टिफाइङ कम्पनी प्रालि थापाथलीका प्रबन्ध निर्देशक पुरुषोत्तम घिमिरेले ७ थान डिजिटल सिग्नेचर किट सोही अवसरमा हस्तान्तरण गरे ।

हाल प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय र पाँच वटै क्षेत्रीय प्रहरी कार्यालयहरुमा सञ्चार आदान प्रदानका लागि डिजिटल सिग्नेचरको प्रयोग भएकाे महानिरीक्षक अर्यालले बताए । प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. राजीब सुब्बाले धन्यबाद ज्ञापन गरेकाे सो समारोहमा बरिष्ठ प्रहरी अधिकृतहरु तथा उक्त प्रालिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

विद्युतीय कारोबार ऐन, २०६३ अनुसार प्रहरीले डिजिट सिग्नेचर सुरु गरेको हो । इ–मेल, इन्टरनेट र पेपरलेस प्रणालीको प्रयोग गरी अधिकांश पत्रहरु आदान प्रदान गरी सूचना व्यवस्थापन गर्दै आएकोमा यस प्रकारको सेवाको सत्यतथ्य प्राविधिक रुपमा थाहा पाउन नसकिने र अनाधिकृत तरीकाले नक्कली पत्र पठाए पनि अफिसियल भएको भ्रम पर्न सक्छ । कार्यालय सञ्चालनमा सुरक्षा र आधिकारिक पक्षलाई विश्वसनीय बनाउन डिजिटल सिग्नेचरको प्रयोग अपरिहार्य भएकोले यसको विधिवत सुरुवात जारी विज्ञप्तिमा जनाइएको छ ।

सिग्नेचर पद्धतीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीका प्रशासन तथा सञ्चारतर्फका ४० जना प्रहरी अधिकृत तथा जवानहरुलाई उक्त प्रालिका प्रशिक्षकहरुबाट १/१ दिनको प्रशिक्षणसमेत प्रदान गरिएको छ ।

विशेष