शैक्षिक सुधारका लागि अक्षय कोष स्थापना
असार - २ । कैलालीको गोदावरी नगरपालिका श्रीपुरस्थित शारदा माध्यमिक विद्यालयमा ‘सुदर्शन भट्ट अक्षय कोष‘ खडा गरिएको छ । स्थानीय समाजसेवी स्वर्गीय सुदर्शन भट्टको नाममा खडा गरिएको रु एक लाखको उक्त अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमले विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री लगायत सहयोग प्रदान गरिने बताइएको छ ।
विद्यालयमा शुक्रबार आयोजित एक समारोहबीच स्वर्गीय भट्टका छोरा तथा सोही विद्यालयका पूर्व छात्र एन्डिप्रकाश भट्ट र डा घनश्याम भट्टले संयुक्तरुपमा उक्त अक्षय कोष खडा गरिएको प्रधानाध्यापक भोजराज जोशीले बताए।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालराज चौधरी र स्थानीय समाजसेवी हेमप्रकाश उप्रेतीले अक्षय कोष खडा गर्ने भट्ट परिवारप्रति आभार व्यक्त गरे । प्रधानाध्यापक जोशीले अक्षय कोष स्थापनाले विद्यालयमा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्नका थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।