समाज

एसइई परीक्षा: सहभागी छात्रा बढी, नतिजामा छात्र

प्रकाश सिलवाल

एसइई परीक्षा: सहभागी छात्रा बढी, नतिजामा छात्र

 

असार - ३ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा कुल सहभागीमध्ये छात्राहरु बढी भएपनि राम्रो नतिजा ल्याउनेमा छात्रहरु बढी देखिएका छन् ।

शुक्रबार सार्वजनिक भएको संवत् २०७३ को परीक्षाफलमा स्तरीकृत अङ्क (जिपिए) ३ दशमलव ६५ देखि ४ सम्म औषत अति उत्तम क्षमताका कुल १२ हजार २८४ विद्यार्थी देखिएकामा छात्र ३ दशमलव ७५ र छात्रा २ दशमलव ३४ प्रतिशत छन् ।

परीक्षामा नियमिततर्फ कुल चार लाख ४५ हजार ५६४ मध्ये छात्र दुई लाख २१ हजार ६८२ (४९ दशमलव ७५ प्रतिशत) र छात्रा दुई लाख २३ हजार ८८२ (५० दशमलव २५ प्रतिशत) सहभागी थिए ।

विसं २०७२ मा जारी भएको विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधिअनुसार प्राप्ताङ्क नदिई परीक्षार्थीलाई विषयगत ग्रेड दिइन्छ । त्यसअघि प्राप्ताङ्कका आधारमा उत्तीर्ण र अनुत्तीर्णसहित लब्धाङ्कपत्र (मार्कसिट) दिइने प्रवेशिका (एसएलसी) परीक्षा प्रणाली थियो ।

जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्मको क्षमताका ४२ हजार ४२७ विद्यार्थी रहेकामा छात्र ११ दशमलव २४, छात्रा ७ दशमलव ८२ प्रतिशत छन् । समग्रमा अन्य क्षमताका विद्यार्थीमा पनि छात्राकै प्रतिशत बढी छ ।

परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले परीक्षाफलमा देखिने यस्तो असमानता सुधारका लागि मूलतः कक्षामा गरिने सिकाइ सहजीकरण क्रियाकलापमा सुधार गर्ने, विद्यालयमा उचित सिकाइ वातावरण सुदृढ गर्ने, पाठ्यक्रममा आधारित सिकाइ र पाठ्यक्रममै आधारित मूल्याङ्कन पद्दति सुदृढ गर्नुपर्ने बताए।

अभिभावक सङ्घका उपाध्यक्ष सरिता अर्यालले विद्यालय भर्ना र परीक्षामा सामेल हुनेमा छात्राहरु बढी हुने भएपनि नतिजामा छात्रको सङ्ख्या बढी हुनुले शैक्षिक गुणस्तरमा लैङ्गिक असमानता देखिएको र यो सामाजिक सुधारकै अभियानबाट परिवर्तन गर्न सकिने बताए ।

शिक्षाविद् डा मनप्रसाद वाग्लेले एसइई परीक्षा प्रणालीले विद्यार्थीको गुणस्तरको सही मूल्याङ्कन गरेको मान्न नसकिने बताउँदै अक्षराङ्कन पद्धतिको नतिजालाई समग्रमा गुणस्तर सुधारको अवस्था मान्न नसकिने बताउँछन् ।

उनले नियमितमध्ये कक्षा ११ मा भर्ना हुन आवश्यक मानिनेभन्दा कम ३० को हाराहारीको अङ्क पनि ल्याउन नसक्ने विद्यार्थी अङ्ग्रेजी विषयमा ३३ प्रतिशत, गणितमा ४६.५५, विज्ञानमा ४३.७५ र सामाजिक शिक्षामा २३.६५ प्रतिशत भएकाले एक लाखभन्दा बढी विद्यार्थी कक्षा ११ पढ्नबाट वञ्चित हुने बताए । यसमा पनि छात्राको सङ्ख्या उच्च रहेको पनि उनले बताए । 

विशेष