समाज

खान नदिएको भन्दै म्यादी प्रहरीको आन्दोलन

खान नदिएको भन्दै म्यादी प्रहरीको आन्दोलन

जेठ १८ । सिरहाबाट छनोट भई सप्तरीमा खटिएका म्यादी प्रहरीले बुधबार इलाका प्रहरी कार्यालय लहानअगाडि प्रदर्शन गरेका छन् ।

आफूहरुलाई काममा खटिंदा खाना र बस्न नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । म्यादी प्रहरीका लागि सरकारले उपलब्ध गराएको पोसाकमै जिल्ला प्रहरी कार्यालय सिरहाअगाडि उनीहरुले प्रदर्शन गरेका थिए ।सिरहामा छनोट भइ सप्तरीमा खटिएकामध्ये ८० जना म्यादीले प्रदर्शन गरेको बताइएको छ ।

उनीहरुले आफूहरुलाई एक जिल्लामा छनोट गरेर अर्कै जिल्लामा पठाएर विभेद गरेको आरोप लगाए । उनीहरु जिल्ला प्रहरी कार्यालय सप्तरीअन्तर्गत इलाका प्रहरी कार्यालय रुपनी, कल्याणपुरलगायतमा खटिएका थिए । सप्तरीस्थित इलाका प्रहरी कार्यालय रुपनीबाट करिब २५ किलोमिटर दूरी पार गर्दै म्यादी प्रहरी पैदलै इलाका प्रहरी कार्यालय लहान आइपुगेका थिए ।

आफूहरुलाई प्रहरीले कार्यालयमा बस्न नदिएको, खानका लागि ‘जहाँ मन लाग्छ त्यही जाउँ’भनेर हप्काउने गरेको एक म्यादी प्रहरीले बताए । नेपाल प्रहरीले म्यादी प्रहरीमा खटिएका महिलाहरुलाई जिस्क्याउने गरेको, ड्युटीमा खटिंदा नेपाल प्रहरीसँगै नगएकोलगायतका आरोप उनीहरुको छ ।

नयाँ पत्रिका

विशेष