अर्थ मुख्य समाचार

३० वर्षमा पनि बन्दैनन् आयोजना

३० वर्षमा पनि बन्दैनन् आयोजना

असार ४ । महाकाली करिडोर भनिने महेन्द्रनगरको ब्रह्ममदेवदेखि दार्चुलाको तिंकर जोड्ने सडकका लागि चालु आर्थिक वर्षमा ३० करोड बजेट छुट्याइएको छ।

यो आयोजना बनाउने भन्दै काम थालेको ३१ वर्ष भइसकेको छ। २०७३ मै सक्ने लक्ष्य राखिएको आयोजनाको प्रगति नगण्य छ। ०४२ सालमा उक्त आयोजना बनाउने पहल सुरु भएको हो। महाकाली नदीमै पञ्चेश्वर बहुद्देश्यीय आयोजना बन्ने भनिएको पनि दुई दशक भइसकेको छ ।

न आयोजनाको काम अघि बढेको छ, न सडक नै बनेको छ। यी दुई आयोजना अगाडि बढाउने विश्वसनीय खाका पनि छैन। विश्व बैंकले हाल सार्वजनिक गरेको आगामी १३ वर्षको अवस्थाबारे एक प्रतिवेदनअनुसार लामो समयदेखि सडकको बजेट राखेर पनि काम नभएका आयोजना हो, महाकाली करिडोर ।

विश्व बैंकले राष्ट्रिय योजना आयोगको तथ्यांक लिएर यस्ता आयोजना निर्माणको अवस्था सार्वजनिक गरेको छ। ‘नेपालको आयोजना छनोट, त्यसका लागि आवश्यक बजेट, निर्माणको चरणमा गर्नुपर्ने काम र मूल्यांकनमा समस्या छ’, क्लाइम्बिङ हाइएर स् टुवार्ड मिडिल इन्कम नेपाल नामक प्रतिवेदनमा भनिएको छ, ‘नेपालजस्तै अन्य विकासोन्मुख मुलुकहरूको तुलनामा यो कमजोर हो।’ सडक आयोजना बन्न औसत १२ वर्ष लाग्ने एक अध्ययनले देखाएको छ। सिँचाइ आयोजनाको निर्माण पनि सन्तोषजनक छैन ।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ १४ वर्षदेखि निर्माणाधीन छ। ०७७ मा सक्ने सरकारी लक्ष्य छ। लामो समय भारत र विश्व बैंकसँग पहल गर्दा पनि नबनेपछि आयोजना नेपाल आफैंले बनाउन लागेको हो।

कान्तिपुर

विशेष