स्वास्थ्य

सरकारी अस्पतालमा बिरामीलाई उपचार गराउनै सास्ती

सरकारी अस्पतालमा बिरामीलाई उपचार गराउनै सास्ती

असार ४ । राजधानीका हरेकजस्तो अस्पतालमा बिहान सबेरैदेखि बिरामीको लाम देख्दा अझै पनि अस्पतालको सेवा अपुग देखिन्छ ।

दिनहुँ बिरामीको संख्या बढ्नु र सेवा पनि सीमित समयसम्म मात्रै हुनाले पनि अस्पतालमा बिहानैदेखि लाइन देखिएको हो । राजधानीका सबै अस्पतालले आकस्मिक सेवाजस्तै एकाबिहानैदेखि बेलुकी ६ बजेसम्म सिफ्टअनुसार उपचार सेवा दिने हो भने कुनै पनि अस्पतालमा अहिलेको जस्तो बिरामीले दुःख नपाउने सर्वसाधारण बताउँछन् । उपचारका लागि दोलखाबाट आएकी शारदा थापा छिट्टै टिकट पाउने आशामा बिहान ६ बजे मिनभवनस्थित निजामती कर्मचारी अस्पतालमा लाम बस्न पुगेकी थिइन् । ‘टिकट त ९ बजे मात्रै बाँड्छ, किन यति बिहानै लाइनमा बस्नुभएको र’ राजधानीको जिज्ञासामा उनको जवाफ थियो, ‘एकाबिहानै लाइन बसे छिट्टै टिकट पाइन्छ र जँचाएर रिपोर्टसमेत देखाउन भ्याइन्छ ।

त्यसैले बिहानै आएको।’ बानेश्वरको मूल सडकमै रहेको निजामती कर्मचारी अस्पतालमा अहिले टिकटका लागि बिहान ५ बजेदेखि नै भीड लाग्छ । ढिलो आए टिकट नपाइने समस्या छ । त्यसैले स्वास्थ्य जाँचका लागि झिसमिसेमै त्यहाँ भीड लाग्न सुरु गर्छ । सर्वसाधारणका लागि सो अस्पतालले अहिले ९ बजेदेखि मात्रै दिन्छ । निजामती कर्मचारी र तिनका परिवारलाई भने बिहान ७ बजेदेखि नै टिकट वितरण गरिन्छ । यता निजामती अस्पतालनजिकै घर भएका हेम थापा भने सो अस्पतालमा बढी भीड हुने भएकाले आफ्नो पेटसम्बन्धी जाँच गर्न र अल्ट्रासाउण्ड गर्न पुतलीसडकको मोडेल अस्पताल पुगेका थिए । ‘त्यहाँ बढी भीड हुने भएकाले म यता आएको’ उनले  भने । त्यसो त बहिरंग विभागमा दैनिक एक हजारभन्दा बढी बिरामी जाँच्दै आएको वीर अस्पतालमा पनि भीड कम्ती देखिन्न । नेपालकै एक मात्र पुरानो र ठूलो केन्द्रीय स्तरको सरकारी अस्पताल सहरको बीचमा भएका कारण भीड हुनु स्वाभाविकै हो ।

बिरामीको चाप बढ्नेबित्तिकै उसको एक्सरे, दिसापिसाब र रगतलगायतको जाँच गर्न र रिपोर्ट हात पर्न स्वतः ढिलो हुने वीर अस्पतालको ईएनटी विभागका स्वास्थ्यकर्मी मोहनराज श्रेष्ठ भन्दै थिए। राजधानीको जुनसुकै अस्पतालमा एकजना बिरामीको रोग परीक्षणका लागि टिकट लिनेदेखि बिरामी जाँच्न, त्यसपछि एक्सरेका लागि पैसा तिर्न, एक्सरे गर्न र त्यसको रिपोर्ट संकलन गर्न, रगत, दिसापिसाब जाँच्नपर्ने भए भोलिपल्ट बिहानै आउन, पैसा तिर्न र दिनभर कुरेर संकलन गरेका रिपोर्ट डाक्टरलाई देखाउनसमेत गर्दा कम्तीमा पनि दुई दिन लाग्छ। अझ सिटिस्क्यान, भिडियो एक्सरेलगायत गर्नुपर्दा त अर्को एक दिन बढी लाग्छ ।

त्यसका लागि बिरामीसँग कम्तीमा एकजना नत्र दुईजना सहयोगी अस्पताल आउनुपर्ने हुन्छ, पैसा सकिने त आफ्नो ठाउँमा छँदै छ। बिरामीलाई नै अस्पताल भर्ना गर्नुपर्‍यो भने त झनै तनाव। विशेषगरी निजामती कर्मचारी र उनीहरूको परिवारलाई लक्षित गरी केही वर्षअघि खोलिएको निजामती कर्मचारी अस्पतालमा यतिखेर दैनिक ४ देखि ५ सयको हाराहारीमा बिरामी आउने गरेको अस्पतालका कार्यकारी निर्देशक डा।दीर्घराज आरसी बताउँछन्। ‘सुरुसुरुमा बिरामी आउँदैनथे, अहिले सोचेभन्दा बढी बिरामीको चाप छ।’ अस्पतालले बिहान ७ देखि कर्मचारीलाई टिकट बाँड्छ, त्यसपछि बाँकी रहेको टिकट बिहान ९ बजेदेखि सर्वसाधारणलाई बाँड्ने गरेको छ। ‘हाम्रो दैनिक बहिरंग सेवाको टिकट ३ सय वटा हो, पहिलो प्राथमिकता कर्मचारी र उनीहरूका परिवारलाई परिचयपत्रको आधारमा टिकट बाँडिसकेपछि बाँकी रहेको करिब ७० प्रतिशत टिकट सर्वसाधारणलाई बाँड्छौं,’ उनले भने, ‘जति बिहानैदेखि लाम बसे पनि सर्वसाधारणलाई टिकट बाँड्ने भनेको ९ बजेदेखि मात्रै हो।’

३ सयवटा टिकट सकिएपछि लाममा भएका बिरामी दिउँसो २ सय ५० रुपैयाँ तिरेर प्राइभेट क्लिनिकमा जँचाउने गरेको पनि उनले बताए ।

राजधानी

विशेष