ओबिओआरमा प्रचण्ड सरकारले हस्ताक्षर नगरेको भए राजपा चुनावमा आउँथ्यो
नेपाली जनताबाट भोट लिने तर विदेशी शक्ति केन्द्रलाई खुसी पार्ने अन्तरआत्माबाट कसम खाएका नम्बर एक दलाल विमलेन्द्र निधी हुन्
–किशोरकुमार विश्वास, अध्यक्ष बहुल संघीय समाजवादी पार्टी
अहिलेको राजपा नेपाल भनौं या हिजोको तमलोपा, संघीय गठबन्धन वा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, यो समूह हिजोदेखि नै बाहिरीयाबाट परिचालित भयो । मधेसी जनताको सम्मानका लागि भन्दा पनि अरुको आदेश मान्दा मान्दै अब संकटमा पर्ने अवस्थामा प्रवेश गरेको छ ।
अध्याँरो गुफामा प्रवेश त भयो, तर निस्कने कुनै बाटो छैन । कुनै निकास छैन । यस्तो अवस्थामा पुग्यो राजपा नेपाल । मानौं यो शक्ति कुनै ब्लाक होलमा प्रवेश गरेको हो ।
यिनीहरुको माग हिजो पनि स्पष्ट थिएन, आज पनि स्पष्ट छैन । मलाई लाग्दैन कि भोली स्पष्ट हुन्छ । माग जे जस्तो होस मुलुकमा अस्थिरता सिर्जना गरिरहन यिनीहरु प्रयत्नशील भएको पाएको छु । अरु भन्दा पनि राजपा नेपाल मालिकको दानापानीको मूल्य चुकाउने क्रममा आफै समाप्त हुने हो कि भन्ने देखिएको छ । त्यस्तै भयो भने पनि अचम्म नमाने हुन्छ । कुनै बेलाको सबैभन्दा ठूलो राजनीतिक शक्ति नेकपा माओवादीको हालत हेर्दा पनि थाहा हुन्छ ।
असार ४ मा मनोनयन दर्ता भयो । प्रदेश नम्बर २ मा भएन । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशीको इशारामा प्रदेश २ को निर्वाचन रोकेका हुन् । खासमा राजपा नेपाल र शेरबहादुरका मालिक एकै हुन् । मालिकले शेरबहादुरलाई सत्तामा पुर्याउँछ, आफैले राजपालाई उक्साएर आन्दोलन गर्न लगाउँछ । नेपालमा बल्ने आगो ताप्ने चाहिँ उही हो ।
प्रदेश नम्बर २ भनेको नेपालको लाइफलाइन वा मेरुदण्ड हो । वीरगञ्ज नाका यही प्रदेशमा पर्छ । पर्सादेखि सप्तरीसम्म स्थगन गरेर उनीहरुले सफलता पाएका छन् । यो कदम शेरबहादुरको ठूलो असफलता र राष्ट्रघाती काम हो ।
विदेशी शक्ति केन्द्रले आफ्ना सरकारमा बस्ने र सडकमा हुने एजेन्टलाई एक आपसमा भिडाउँछ । अहिले विदेशी शक्ति केन्द्रको दलाली गरेर शेरबहादुर सिंह दरबार पुगेका हुन् । उनको विरोध गर्न पनि राजपा नेपाल भन्ने दलालहरुको झुन्ड तयार छ । यिनीहरुको उद्देश्य नेपाललाई अस्थिर बनाउनु मात्रै हो । अस्थिरता हुँदा वातावरण धमिलो हुन्छ । त्यो धमिलो पानीमा माछा मार्न दुवै खाले एजेन्ट पोख्त छन् ।
अब चुनाव स्थानीय तहको मात्रै होइन प्रदेश र संघीय संसदको पनि हुनु पर्ने छ । तर स्थानीय तहकै निर्वाचन प्रदेश नम्बर २ मा गर्न नसकेपछि कसरी अरु चुनाव कसरी गर्ने ? हामीले वैशाख ३१ मै सबै प्रदेशमा एकैपटक चुनाव हुनु पर्छ भनेका थियौं ।
अब अहिलेको सत्ता समिकरण चुनाव सार्ने सबै काम गर्ने व्यक्ति भनेको नेपाल बसेर राजनीति गर्ने, नेपाली जनताबाट भोट लिने तर विदेशी शक्ति केन्द्रलाई खुसी पार्ने अन्तरआत्माबाट कसम खाएका नम्बर एक दलाल विमलेन्द्र निधी हुन् । दोस्रो चरणमा असरा २ मा निर्वाचनको मिति तोकिएको थियो । असार ४ मा सारियो । जेठ ३१ गते निधीले नै देउवालाई दबाब दिए, प्रदेश नम्बर २ का सबै सांसदहरुको बेग्लै मिटिङ डाके, कांग्रेस पदाधिकारीको बेग्लै मिटिग राखेर चुनाव सार्न बाध्य पारे ।
टीकापुर हत्याकाण्डका नाइके रेशम चौधरीलाई पौने दुई करणको पुरस्कार दिने पनि निधी नै हुन् । उनैले निर्णय गराएका थिए । हत्याराहरुको पनि मुद्धा फिर्ता लिन खोज्ने पनि निधी नै हुन् । यो सब विदेशीलाई खुसी पार्न गरिएको हो ।
अर्को रोचक प्रशंग के छ भने राजपा नेपालले अहिलेसम्म पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । यिनीहरु सत्तापक्षीय दलहरु हुन् । सत्ता पक्षकै बेन्चमा बस्छन् । अनि ठूलो क्रान्तिकारी कुरा गर्छन् । तर काम भने पूर्णत दलाली हो यिनीहरुको ।
अहिले तराइको जनसंख्या ५१ प्रतिशत भइसक्यो । अनियन्त्रित आप्रवासनले तराइको खेतियोग्य जमिन समाप्त हुँदै छ । हचुवाको भरमा मतदाता नामावलीमा नाम राख्ने, विदेशीलाई नागरिकता दिने, जसलाई पनि वंशजको नागरिकता दिने जस्ता कामहरु भएका छन् । हुलमुलमा लिइएका नागरिकताको छानविन हुनु पर्छ । खुला सीमा नियन्त्रण गर्नु पर्छ ।
विदेशी मूलका मानिसहरुको तराईमा बढी बसोबास भएकोले नै सिके राउत जस्ताको जन्म भएको छ । तराईमा आन्दोलन गर्ने अधिकांश तिनी अंगीकृतेहरु छन् । धेरै जसो हिन्दीभाषी छन् ।
नेपालमा जहिले पनि अशान्ति र अस्थिरता उत्पन्न गर्न एक एक वटा काउन्टर पोल जहिले पनि खडा गरिन्छ । पञ्चायतकालमा कांग्रेस, कम्युनिष्टहरु थिए । प्रजातन्त्र आयो कांग्रेसको एकमना सरकार मध्यावधिमा गयो । त्यतिले पुगेन ५२ सालमा माओवादी जन्माइयो । ६३ सालदेखि अस्थिरता उत्पन्न गरिरहन संविधान बन्न दिइएन । संविधान बन्यो नाकाबन्दी लाग्यो । नाकाबन्दी पनि झेल्यो देशले अब राजपा नेपाल र संगसँगै सिके राउतलाई काउन्टर पोलमा राखिएको छ । यसरी देश विदेशीले देश बर्बाद पारिरहेका छन् । यो कुरा सबैले बुझ्न जरुरी छ ।
जहाँसम्म राजपा नेपालले किन अहिले चुनावमा भाग लिएको छैन थाहा छ ? यदि प्रचण्ड सरकारले वान बेल्ट वान रोड (ओविओआर)मा सहमति नजनाएको भए राजापा नेपालले निर्वाचनमा भाग लिन्थ्यो । नेपालको हित हुने त्यो योजनामा नेपालले समर्थन जनाएपछि राजपा नेपालले प्रतिक्रिया स्वरुप चुनावमा नजाने बताएको हो ।
(अध्यक्ष विश्वाससँग गरिएको कुराकानीमा आधारित)