पक्षघातका बिरामीलाई बरदान हुने उपकरण बनाए दुई नेपालीले
असार ६ । प्रायः पक्षघातका बिरामी हातखुट्टा, शरीर चलाउन नसक्ने, बोल्न नसक्नेजस्ता समस्याबाट ग्रसित हुन्छन् । उनीहरूको चाहना र आवश्यकता बुझ्न अभिभावक तथा रेखदेख गर्नेलाई कठिन हुन्छ ।
तर, नेपालमै यस्तो प्रविधि विकास भएको छ, जसले बिरामीको चाहना र आवश्यकता अभिभावक र रेखदेख गर्नेको मोबाइलमा सन्देशका रूपमा पठाउनेछ ।
दुई युवा अनुसन्धानकर्ताले विकास गरेको प्रविधि शरीरमा राखेपछि बिरामीले सोचेको कुरा मोबाइलको म्यासेज बक्समा पुग्नेछ र सो अनुसार बिरामीको कुरा बुझ्न अभिभावकलाई सहज हुनेछ ।
अनुसन्धानकर्ता युगेश पाण्डे र अंकित शाहले ८ महिना लगाएर विकास गरेको प्रविधिले पक्षघातका बिरामीको जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।
शरीरमा जडान गरिएको ‘ईईजी’नामको मेसिनले बिरामीको दिमागबाट उत्पन्न भएको माइक्रोभोल्ट ९बिटा ब्रेन वेभ० विश्लेषण गरेर कम्प्युटरको सफ्टवेयरमार्फत मोबाइलमा सूचना दिन्छ ।
पाण्डेका अनुसार कम्प्युटरको स्क्रिनमा हरेक पाँच-पाँच सेकेन्डमा बिरामीका आवश्यकता र चाहनाका सूची आउँछन् । बिरामीले आफ्नो आवश्यकतामा सोचाइ बढाउँछन् र त्यो आवश्यकता वा चाहना छनोट भएर मोबाइलमा म्यासेज जान्छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले उक्त प्रविधि विकास र मेसिन निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । अहिले यो प्रविधि नास्टमै राखिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि यो प्रविधि बिरामीमा प्रयोग गर्न ‘इथिकल एप्रुवल’ दिएको छ ।
अन्नपूर्ण पोस्ट