खेल

बक्सिङमा चौधरी र रोक्का च्याम्पियन

बक्सिङमा चौधरी र रोक्का च्याम्पियन

 

असार - ८ । नेपाली सेनाका दलबहादुर चौधरी र विमल रोक्का ओलम्पिक दिवसका अवसरमा आयोजित एकदिने बक्सिङ प्रतियोगितामा च्याम्पियन भएका छन् । लगनखेलस्थित सेनाका शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा आज भएको प्रतियोगिताको पुरुष ५२ केजी तौल समूहमा चौधरी राष्ट्रिय टोलीका खेलाडी सुशील थापालाई हराउँदै च्याम्पियन बनेका हुन् ।

त्यसैगरी पुरुषकै ५६ केजी तौल समूहमा रोक्काले झापाका सुरेन्द्र राईलाई पराजित गरे । पुरुषको ४९ केजी तौलसमूहको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका नाम्गेल शेर्पा र प्रदीप महर्जन संयुक्त रुपमा विजेता घोषित भए । पुरुषकै ७५ केजी तौलमा सेनाका एकबहादुर घलेले काठमाडौँका विशाल श्रेष्ठलाई हराउँदै स्वर्णपदक हात पारे ।

यता महिलातर्फ भएको एक मात्र खेलमा सेनाकी गीता थापा मगरले स्वर्णपदक जितिन् । मगरले ५१ केजी तौल समूहमा राष्ट्रिय टोलीकी माला राईलाई पराजित गरिन् । विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलगायतले पुरस्कार प्रदान गरे।


विशेष