खेल

पौडीमा चार कीर्तिमान

पौडीमा चार कीर्तिमान

असार - ८ । नेपाल पौडी सङ्घको आयोजनामा भएको पौडी प्रतियोगितामा चार राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा आज भएको खेलमा बाह्र वर्षमुनि उमेर समूहको छात्र ५० मिटर ब्रेस्ट स्ट्रोकमा जेनिश महर्जनले ४०.५३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । यसअघि सो विधामा तरुण भण्डारीका नाममा ४२.५६ सेकेन्डको कीर्तिमान थियो ।

दोस्रो स्थान हासिल गरेका राजर्षि गुरुकुलका आदर्श कार्कीले पनि ४२.०० सेकेन्ड समय खर्चँर्दै नयाँ कीर्तिमान कायम गरे । प्रतियोगितामा तेस्रो भएका पाठशाला नेपालका भण्डारीले आफ्नो समयमा सुधार गर्दै ४२.३७ सेकेन्डमा दूरी पार गरे ।

यस्तै छात्रातर्फ पनि जोन डेबीकी डुवाना लामाका नाममा रहेको ४१.७२ सेकेन्डको समयलाई भङ्ग गर्दै प्रिमियरकी उपास्ती महर्जनले ४०.१३ सेकेन्डको कीर्तिमान कायम गरिन् । दोस्रो स्थानमा रहेकी डुवानाले पनि आफ्नो समयमा ४०.५० सेकेन्डले सुधार गरिन् ।

बेस्ट स्ट्रोककै चौध वर्षमुनिको छात्रामा लिङ्कनकी टिसा शाक्यले आफ्नै नाममा रहेको ४१.०३ सेकेन्डमा समयमा सुधार गर्दै ४०.९१ से.को नयाँ कीर्तिमानी कायम गरिन् । दोस्रो स्थानमा प्रिमियरकी श्रेवी महर्जन र तेस्रो स्थानमा जोन डेबिकी तेन्जिङ शेर्पा रहिन् ।

पचास मिटर फ्रिस्टायल १२ वर्षमुनिको छात्रातर्फ जोन डेबीकी लामाले आफ्नै नाममा रहेको ३३.५३ सेको समयमा सुधार गर्दै ३२.४७ से समयको नयाँ कीर्तिमान राखिन् । दोस्रो स्थानमा रहेकी राजर्षिकी अनुसुया तन्डुकार ३३.१२ सेकेन्डका साथ दोस्रो र प्रिमियरकी महर्जन तेस्रो भए ।

दुईदिने उक्त प्रतियोगिताको दश वर्षमुिनको छात्र ५० मिटर बे्रस्टमा आइडलका लिसन डङ्गोलले ४८.९४ सेकेन्डका साथ स्वर्णपदक प्राप्त गरे । प्रिमियरका जिबिश पौडेल दोस्रो तथा डिएभीका अल्भिन महर्जन तेस्रो भए ।

छात्रतर्फ ब्रिटिस स्कुलकी तेन्जिन यिगा लामाले ४७.८४ सेकेन्डमा दूरी पार गरिन् । हिम्सकी देचेन गुरुङले रजत र युष्का महर्जनले कास्य पाए । पचास मि फ्रिस्टायलतर्फ दश वर्षमुनिको छात्रमा प्रिमियरका इर्भिन श्रेष्ठले ३७.७८ सेकेन्ड समय लगाउँदै स्वर्ण जितिन् भने डिएभीका अल्मिन महर्जनले रजत र प्रिमियरका पौडेलले कास्य पाए ।

छात्रातर्फ निसर्गका आयुक्ती थापा र राभ्या श्रेष्ठले स्वर्ण र रजत तथा राजर्षिकी यात्रा केसीले कास्य पाए । आयुक्तीले उक्त दूरी ४२.२२ सेकेन्डमा पूरा गरिन् । बाह्र वर्षमुनि छात्रमा जेनिश महर्जनले स्वर्ण पाए । पाठशालाका भण्डारीले रजत तथा मल्पीका तेन्जिङ नामदोल ¥यान गुरुङले कास्य पाए । 

विशेष