पोर्चुगलले रुसलाई हरायो, अर्को खेलमा मेक्सिको विजयी
असार ८ । रुसमा जारी कन्फेडेरेशन कप फुटबलअन्तर्गत गए राती भएका खेलमा पोर्चुगल र मेक्सिको विजयी भएका छन् ।
युरोपियन च्याम्पियन पोर्चुगलले आयोजक रुसलाई १–० ले हराएको हो । खेलमा पोर्चुगललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले निर्णायक गोल गरे ।
बुधबार राति भएको अर्को खेलमा उत्तर अमेरिकी च्याम्पियन मेक्सिकोले ओसियाना समूहको च्याम्पियन न्युजिल्याण्डलाई २–१ ले हरायो ।
मेक्सिकोलाई जिताउन राउल जिमिनेज र ओरीबे पेराल्टाले एक एक गोल गरे । न्यूजिल्याण्डका क्रिस उडले सुरुवाती गोल गरेका थिए ।
खेलपछि समुह ए बाट सेमिफाइनल पुग्ने समिकरण रोचक बनेको छ । दुई खेलबाट ४–४ अंक बटुलेका मेक्सिको र पोर्चुगल क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तेस्रो स्थानको रुसको ३ अंक रहेको छ । अन्तिम खेलमा रुस र मेक्सिको तथा पोर्चुगल र न्युजिल्याण्ड भिडेपछि सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।
कन्फेडेरेसन कप फुटबलमा आज दुई दावेदार टोलीहरु जर्मनी र चिली भिड्नेछन् । पहिलो खेलमा जर्मनीले अष्ट्रेलियालाई ३–२ ले हराएको थियो भने चिलीले क्यामरुनलाई २–० ले पाखा लगाएको थियो ।
आज विजयी हुने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्नेछ ।