विचार

यस्तै हो भने राजपा नेपाल निर्वाचन आयोगमै सिमित हुन सक्छ

यस्तै हो भने राजपा नेपाल निर्वाचन आयोगमै सिमित हुन सक्छ

डा. राजेश अहिराज
राष्ट्रिय जनता पार्टी नेपालले पछिल्लो समय गरेको अपराध भनेको अरुको अधिकार खोस्ने प्रयास हो । आफू प्रधानमन्त्रीको निर्वाचनमा मत हाल्न लाइन लाग्ने अनि जनताले भोट हाल्ने बेलामा बष्किार, बिथोल्ने जस्ता कार्यक्रम सार्वजनिक गर्नु राजपाको राजनीतिक बेइमानी र राजनीतिक अराजकता हो ।

राजपाले निर्वाचनमा भाग नलिँदैमा उसको एजेन्डा रहिरहने र निर्वाचनमा भाग लिनेको एजेन्डा समाप्त हुनृ भन्ने हुँदैन । त्यसमाथि निर्वाचन भनेको कुनै दल र व्यक्तिको मात्रै सरोकारको विषय होइन । यो त राष्ट्रिय सरकारको विषयहो । स्थानीय तहको निर्वाचनसँग राजपाका कुनै पनि मागको सम्बन्ध छैन । यसकारण यो तहको निर्वाचन बिथोल्ने कार्यक्रम सार्वजनिक गर्न आवश्यक छैन ।

स्थानीय तहको यो निर्वाचनले जनताको घरदैलोमा सिंहदरबार ल्याइदिन्छ । भूमिको कारोबार, नागरिकता, नागरिक अधिकारका कैयन विषयहरु स्थानीय तहबाटै हुन्छन् । जनतासँग प्रत्यक्ष जोडिएको यस्तो निर्वाचनलाई राजपाले बिथोल्ने प्रयास गरेर गलत संस्कारको विकास गर्न खोजेको जस्तो देखेको छु ।

राजपाले निर्वाचनमा भाग लिनु पर्ने थियो । भाग नलिए पनि ‘अरुलाई पनि भाग लिन दिँदैनौ, जनतालाई पनि मत हाल्न दिँदैनौं’ भन्ने प्रकारको दम्भ राजपाले नराखेको भए हुने थियो ।

राजपाले भनेर प्रदेश २ को निर्वाचनको मिति सारिएको कुरा छ । तर राजपाले त्यो होइन भन्छ । यदि राजपाले भनेकै भरमा निर्वाचनको मिति सारिएको हो भने यो गम्भीर राजनीतिक गलत संस्कारको सुरुवात हो भन्ने बुझ्नु पर्छ । किनकी आज राजपाले चुनाव सार्नु भन्दा प्रदेश २ को चुनाव सार्ने, भोलि एमालेले प्रदेशको सारौं भन्ला, पर्सि माओवादीले केन्द्रको चुनाव सारौं भन्ला, के यसरी राजनीति चल्छ ? यो गलत नै हो । गलतलाई यो वा त्यो तर्क दिएर ठिक मान्न सकिन्न ।

राजपाको ‘डबल स्ट्याण्ड’ पनि देखिन्छ । उनीहरु सरकारलाई समर्थन गरेर सत्तापक्षको बेञ्चमा बस्छन् । अर्को तिर जनतामा जाँदा प्रतिपक्षी हौं भनेर प्रस्तुत हुन्छन् । सत्ता पक्षीय दलले त सरकारले गरेको निर्णयलाई मान्नु पर्‍यो नी । नमान्ने भए समर्थन फिर्ता लिनु पर्छ । तर राजपा दुवै गर्दैन ।

निर्वाचनको मिति नसार्दा राजापा प्रदेश नम्बर २ बाट पनि बढारिन्थ्यो । भाग नलिएपछि पार्टी जनताबाट बढारिन्छन् । मानिसहरुले राजपालाई जोगाउनका लागि सरकारले प्रदेश २ को निर्वाचन मिति सारेको हो कि ? भन्ने प्रश्न पनि सोध्ने गरेका छन् ।

सरकारको काम दल जोगाउने होइन, देश जोगाउने हो । यसकारण म भन्छु राजपाको घुर्कीमा सरकार धेरै फस्यो । सरकारले त सहजकर्ताको भूमिका निर्वाह गरेर चुनाव गराउनु पथ्र्यो । सबै राजनीतिक पार्टी जनताकै बीचमा हुन्छन् भन्ने हुँदैन । निर्वाचन आयोगमा मात्रै दर्ता भएर बसेका कैयन पार्टी छन् । हो राजपाको स्थिति पनि त्यो आउन सक्छ ।

मानिसहरु राजपाले निर्वाचन बिथोल्ने आँकलन गर्छन् । हतियार भएको शक्ति विप्लवको माओवादीले त निर्वाचनलाई २० बाट १९ मा झार्न सकेको छैन भने राजपा नेपालले के गर्न सक्छ ? राजपाको बिथोल्ने हैसियत नै छैन । पहिलो चरणमा एकैपटक देशभर चुनाव गरको भए पनि केही फरक पर्नेवाला थिएन । सरकार डराएर मात्रै हो । नत्र अहिलेसम्म देशभर स्थानीय तहको निर्वाचन सकिएर जनप्रतिनिधिले काम गर्न थालिसकेका हुने थिए ।

मैले यो कुरा अनुमानको भरमा भनेको होइन । मैले तराइका धेरै जिल्लाको भ्रमण गरेर आए पछि भनेको हो । अझ प्रदेश नम्बर २ मा त अझै मजाले म घुमेको छु । मलाई सबै वस्तुस्थिति थाहा छ । चुनाव हुन नसक्ने कुनै कारण थिएन । तर सरकारले बिना कारण चुनाव तेस्रो चरणमा पुर्यायो ।

विषयको निष्कर्ष के हो भने राजपा नेपाल यदि यो देशप्रति जिम्मेवार छ भने उसले कुनै जात, समुदाय, क्षेत्रलाई होइन पूरै देशलाई केन्द्रमा राखेर राजनीति गर्नु पर्यो ।
(मधेस मामिला जानकार डा. अहिराजसँग गरिएको कुराकानीमा आधारित)

विशेष