योग दिवसमा मनिषा कोइरालाले भनिन्, ‘जीवनको मूल्य क्यान्सर लागेपछि थाहा पाएँ’ (भिडियोसहित)
योगले जीवन सुन्दर बनाउँछ
(योग दिवसका अवसरमा क्यान्सर जितेकी वलिउड फिल्म नायिका मनिषा कोइरालाले जीवनोपयोगी धेरै टिप्सहरु दिएकी छन् । उनले आफ्नो मन्तव्यका क्रममा व्यक्त गरेका धारणाको छोटो अंश निम्नानुशार छ ।)
जब मलाई स्वास्थ्यले चुनौती दियो, त्यसपछि मेरो एक नयाँ अध्याय सुरु भयो । म त्यस्तो मानिसहरु मध्येमा पर्थेँ, जो स्वास्थ्यमा खासै वास्ता गर्दैन थिए । मेरो पनि अस्वस्थ जीवनशैली थियो । जब काठमाडौंको नर्भिक अस्पतालमा मलाइ क्यान्सर भएको पत्ता लाग्यो, त्यसपछि मेरो जीवनको मोड नै बदलियो ।
किमोथेरापीको पीडादायी उपचार मैले गरेँ । धेरै पैसा पनि खर्च भयो । जीवनमा थोरै मानिसहरुले गर्ने अनुभव मैले पनि गरेँ । समग्रमा भन्नु पर्दा त्या एक अत्यन्त पीडादायी घटना थियो । मान्छेलाई प्रकृतिले नै धेरै कुरा दिएको हुन्छ । त्यस्ता उपहारलाई जोगाएर राख्नु पर्छ । त्यो मध्येको स्वास्थ्य पनि हो । मैले स्वास्थ्यको महत्व कहिले बुझिनँ । तर जब यसले मलाई छाडेर जान खोज्यो, अनि मैले जोगाउन धेरै संघर्ष गरेँ ।
मानिसका जीवनका कैयन आयामहरु हुन्छन् । शरिरमात्रै मानिसको स्वास्थ्यको विषय होइन । शरिर–सोच–आत्मा जस्ता विषयहरु हुन्छन् । यतितिर म अहिले जान चाहन्न । शारिरीक र मानसिक स्वास्थ्यका लागि योगको महत्व धेरै छ भन्ने विषयमा केन्द्रीत हुन चाहन्छु ।
दैनिक ८ देखि ९ घण्टाको निद्रा, शाकाहारी भोजन त्यसमा पनि वनस्पतिबाट प्राप्त हुने खानेकुराहरु खान जरुरी छ । हाम्रो शरिरमा ७० प्रतिशत त पानी हुन्छ । यसकारण पानी पनि महत्वपूर्ण हुन्छ स्वास्थ्यकालागि । अर्को कुरा हो सकारात्मक सोचको । तर हाम्रो दिमागले जहिले पनि नकारात्मक घटना नै सम्झन चाहन्छ । विगतमा तपाइको जीवनमा भएका घटना सम्झनु पर्यो भने पहिले नराम्रा घटना नै दिमागमा आउने गर्छन् ।
डकैती, चोरी, हत्या जस्ता समाचारहरु बिकाउ पनि हुन्छन् ।
तनावपूर्ण जीवन शैलीले पनि मानिसलाई रोगी बनाउँछ । तनावबाट मुक्त हुनका लागि योग एक महत्वपूर्ण विधि हुन सक्छ ।