समाज

बन्धक बनाइएका ४५ भारतीय मजदुरको उद्धार

बन्धक बनाइएका ४५ भारतीय मजदुरको उद्धार

 

असार ९ । सप्तरीको पत्थरगाडास्थित डिपीआर इँटा उद्योगमा काम गर्ने ४५ जना भारतीय मजदुरलाई शुक्रबार उद्धार गरिएको छ ।

बिना कुनै ज्याला र मजदुरी नदिई बन्धक बनाएर श्रम गराएको भन्दै भारतको सरकारी पक्षबाट गुनासो आएपछि उनीहरुलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

इँटा उद्योगका मालिकले मजदुरहरुलाई कुनै किसिमको ज्याला नदिई काम गराइरहेको भन्दै यहाँबाट भागेर गएका एक मजदुरले स्थानीय भारतीय प्रशासनमा उजुरी दिएपछि भारतीय पक्षले भारतीय दूतावासमार्फत पत्राचार गरेर सप्तरी प्रशासनलाई उद्धारका लागि आग्रह गरेको थियो । त्यसैको आधारमा सप्तरी प्रहरीले उनीहरुलाई उद्धार गरेको जनाएको छ ।

इँटा उद्योगका मालिकले तिनीहरुलाई काम गराउन ल्याउने ठेकेदार भारतकै विनोद रामले उनीहरुको तलब बापतको रकम लिएर गएको बताएको छ । भारतको वारिसलीगन्ज क्षेत्रका मजदुरलाई सोही क्षेत्रका रामले काम लगाइदिने भन्दै उनीहरुलाई यहाँ ल्याएका थिए ।

केही दिन काम गरेपछि मजदुरहरुले ज्याला माग्न थालेका थिए । तर इँटा उद्योग मालिकले ठेकेदार रामले रकम लिएर गएको र नर्फकेसम्म रकम दिन नसकिने बताएका थिए ।

भारतीय नागरिक बिजुली माझी, उनका ९ वर्षीय छोरा पवन माझी, १५ वर्षीया बालिका सुगमनमाकुमारी, कान्तिदेवी, कुन्दन कुमारसहित ४५ जना मजदुरलाई उद्वार गरी जिल्ला प्रहरी कार्यालय राजविराज ल्याइएको र उनीहरुलाई भारतीय प्रहरीको जिम्मा लगाउने प्रक्रिया अगाडि बढाइएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बताए ।

विशेष