समाज

असार लागेसँगै महाभारत क्षेत्रबाट रोपाइँ सुरु

असार लागेसँगै महाभारत क्षेत्रबाट रोपाइँ सुरु

असार ११ । महाभारत क्षेत्रमा असारलागेसँगै धान रोपाइँ सुरु भएको छ । रोपाइँ ढिला हुँदा धान नफल्ने भएपछि किसान हतारिएका हुन् ।

भद्रकाली, जलकन्या, रतनचुरा, तीनकन्यालगायतका दर्जनाैँ स्थानका किसान अहिले धान रोपाइँमा व्यस्त छन् । महाभारतका केही क्षेत्रमा जेठको अन्तिम साताबाटै धान रोपाइँ सुरु हुने गर्दछ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा केही छिटो रोपाइँ भएको छ । कृषक असारको पहिलो साता नै बर्षेबाली अर्थात धान रोपाइँमा व्यस्त हुन थालेका छन् । यस भेगका कृषकले सिँचाइको लागि पोखरी बनाई पानी सङ्कलन गरेर रोेपाइँ गर्दै आएका छन् । पानी जम्मा गर्ने र पालैपालो आवश्यकता अनुसार प्रयोग गर्ने गरेको जलकन्याका रमेश बुढाथोकिले बताए ।

आकासे पानीको भरपर्दा धेरै ढिला हुने भएकाले आफू अनुकूल रोपाइँ गर्नकै लागि सिँचाइका लागिसबैले आ–आफ्नो खेतबारीमा पानीको जोहो गरेको उनको भनाइ छ ।

मङ्सिरमा धान काटेर बाँझै रहेको खेत तथा गहुँ, लसुन, प्याज लगायतका बाली खेतबाट निकालीसकेको स्थानमा रोपाइँका लागि कृषकहरु अहिले खेतमा आली लगाउने, रोपाइँको तयारी गर्ने तथा छिमेकको रोपाइँमा अर्मपर्ममा नै व्यस्त हुन थालेकाछन् । काम गर्ने खेतालासमेत अभाव हुने भएकाले पर्मबाटै काम फत्ते गर्नुपरेको तीनकन्या रानीखोलाका अञ्जन रानाले बताए ।

सिन्धुलीमा महाभारत क्षेत्रमा पोख्रेली, खुमल, डल्ले खुमल, बास्मती, हर्दिनाथ, ताईचिन लगायतका जातका धान कृषकले लगाउने गर्दछन् । महाभारत बाहेकका अन्य स्थानमा असार १५ पछि मात्रै रोपाइँ हुने गर्छ ।

जिल्लामा १४ हजार ९५० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गतवर्ष त्यहाँ ५० हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो । 

Ropai

विशेष