समाज

माडीका बासिन्दा ८ दिनदेखि अन्धकारमा बस्न बाध्य, खराबी पत्तालगाउन भारतबाट मेसिन मगाइयो

माडीका बासिन्दा ८ दिनदेखि अन्धकारमा बस्न बाध्य, खराबी पत्तालगाउन भारतबाट मेसिन मगाइयो

असार - १२ । दक्षिण चितवनको माडीका बासिन्दा विगत ८ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनि बिच्छ्याइएको तारमा खराबी आएकाले यही असार ५ गतेदेखि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।

‘अन्डरग्राउन्डका तीनमध्ये एउटा केवलमा खराबी देखिएको छ, स्थानीय स्रोत–साधनबाट हेर्दा पत्ता लागेन, पत्ता लगाउने मेसिन नेपालमा नभएकाले भारतबाट मगाइएको छ’–विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले भने ।

केन्द्रका विद्युत् प्राविधिक तथा माडी क्षेत्रका इन्चार्ज आनन्द कुँवर समस्या पत्ता लगाउन नसकिएपछि अहिले भारतबाट मेसिन मगाइएको जानकारी दिए ।उनले मेसिन आएपछि परीक्षण गरेर खराबी पत्ता लाग्ने र त्यसपछि मर्मत हुने भएकाले अझै केही दिन माडीमा विद्युत् सन्चालन नहुने बताए ।

गर्मीको समयमा विद्युत् नहुँदा माडीवासीलाई साह्रै समस्या परेको स्थानीय श्रीप्रसाद दवाडी बताउँछन् । पोल गाडेको दशकौंपछि बल्लतल्ल गएको मंसिरबाट विद्युत् बाल्न सुरु भएको हो ।

विद्युत् सन्चालनका लागि विसं २०५७ सालमा ५० लाख खर्चेर माडीमा गाडिएको पोल जीर्ण हुँदासमेत बिजुली बल्नुको साटो तार र पोल कुहिए । विसं २०६७ बाट नयाँ परियोजना आएर काम थालेको हो ।

भारतीय शैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा नयाँ परियोजना सन्चालन भएको विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेल बताउँछन् ।

भरतपुर, चनौली, माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनामार्फत् माडीमा पहिलोपटक यही २०६३ साल कात्तिकमा विद्युत् पुगेको थियो ।

मंसिर ४ गतेबाट विद्युत् सन्चालन भएको माडीमा अहिले झन्डै चार हजार ग्राहक भइसकेका छन् । विद्युत् नहुँदा उनीहरु ८ दिनदेखि टुकी र सोलारको भरमा बस्न बाध्य भएका छन् ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले विद्युत् प्राधिकरणमा बिजुली सन्चालनका लागि दबाब दिइरहेको भएपनि अझैसम्म मर्मत हुन नसकेको बताए ।

यसअघि, परीक्षण प्रसारणकाबेलामा पनि चितवन निकुञ्जको अन्डरग्राउन्ड क्षेत्रमा पटक–पटक खराबी देखिँदै आएको थियो ।

विशेष