कर्पोरेट

पशुपक्षी बिमाका लागि ७ करोडले रकम थप

पशुपक्षी बिमाका लागि ७ करोडले रकम थप

 

असार - १२ । पशुपक्षी विकास मन्त्रालयले कृषकको आकर्षण बढेपछि पशुपक्षीको बिमाका लागि अनुदानबापतको रकम आगामी आव २०७४/०७५ का लागि २५ करोड पु¥याएको छ । सोही शीर्षकमा मन्त्रालयले चालु आवमा १८ करोड विनियोजन गरेकामा देशभर त्यसको सकारात्मक प्रभाव परेका कारण आगामी आवका लागि सात करोडले रकम थप गरिएको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले जानकारी दिए ।

आव २०७२÷०७३ मा कृषकलाई पशुपक्षीको बिमामा सहुलियत दिन आठ करोड मात्र विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा व्यावसायिक रुपमा पशुपक्षी पालन गर्ने किसानको व्यवसायमा जोखिम घटाउने उद्देश्यले विसं २०६८ मा पशुपक्षीको बिमाको अवधारणा ल्याइएको थियो । सोअनुसार उक्त परियोजनामा सर्वसाधारण नागरिक तथा कृषकको चेतना तथा आकर्षण वृद्धि भएकाले पनि बिमा गर्नेको सङ्ख्या बढेको छ ।

बिमामा सर्वसाधारण नागरिकबाट पशुपक्षीको मूल्याङ्कन गराई वर्षमा एकपटक निश्चित रकम तिर्नुपर्ने हुन्छ । विभिन्न बिमा कम्पनीसँग समन्वय गरी तिरिएको रकमबाट निश्चित समयावधिभित्र पशुपक्षी मरेमा सम्बन्धित कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउनेछ । बिमा प्रिमियम रकमको २५ प्रतिशत पशुपक्षी धनीले तथा ७५ प्रतिशत सरकारले विनियोजन गरेको बिमा रकममध्येबाट प्रिमियम बुझाउने व्यवस्था गरिएको छ ।

देशका विभिन्न २१ वटा निजी क्षेत्रका बिमा कम्पनीले यस कार्यका लागि जनतालाई बिमा सेवा उपलव्ध गराउने जिम्मा लिएका छन् ।

विशेष