समाज

न्यायपरिषद् बैठक नबस्दा नयाँ प्रधानन्यायाधीश नियुक्ति अन्याेलमा

न्यायपरिषद् बैठक नबस्दा नयाँ प्रधानन्यायाधीश नियुक्ति अन्याेलमा

जेठ १९ । न्यायपालिकाको नयाँ नेतृत्व चयनका लागि छलफल गर्न प्रधानन्यायाधीश एवं न्याय परिषद् अध्यक्ष सुशीला कार्कीले परिषद्को बैठकको मिति र समय तोक्न सचिव नहकुल सुवेदीलाई निर्देशन दिएकी थिइन् । तर कार्कीसँगको सम्बन्ध तिक्तताका कारण अधिकांश सदस्य अनुपस्थित हुने भएपछि बैठक अनिश्चित बनेको छ ।

यो अनिश्चिततासँगै जेठ २४ मा कार्कीको अवकाशपूर्व कार्कीनेतृत्वको परिषद्ले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने सम्भावना लगभग शून्य बनेको छ। यदि कोरमबिनै प्रधानन्यायाधीश कार्कीले नाम सिफारिस गरेमा त्यसलाई स्वीकार नगर्न वरिष्ठतम न्यायाधीश तथा दाबेदार गोपाल पराजुलीमाथि अधिकांश परिषद् सदस्यहरू र न्यायाधीशहरूको दबाब परेको छ ।

अवकाश हुन एक साता मात्र समय बाँकी रहेका बेला कार्कीले परिषद् सदस्यलाई बैठकको सूचनासहित चाँडै मिति तय गर्न निर्देशन दिएकी हुन् । सर्वोच्च अदालत स्रोतका अनुसार परिषदद्वारा नयाँ प्रधानन्यायाधीशको नाम संवैधानिक परिषदमा पठाउने प्रयोजनका लागि बैठक तय गर्न परिषद् सचिवलाई निर्देशन दिएकी हुन् । न्यायपरिषद् ऐन, को दफा ३५ को उपदफा ३ मा परिषद् सचिवले परिषद् बैठक बस्ने मिति र समय तोकी बैठकमा छलफल हुने विषय सूचीसहितको सूचना बैठक बस्ने समयभन्दा साधारणतया ४८ घण्टाअगावै सबै सदस्यले पाउने गरी पठाउनुपर्ने व्यवस्था छ ।

पछिल्लो समयमा न्यायपालिकालाई नै दूरगामी प्रभाव पार्ने गरी योजनाबद्ध रूपमा सर्वोच्चका न्यायाधीश गोपाल पराजुलीविरुद्ध प्रायोजित रूपमा रिट दायर भएको भन्दै खारेजीको माग राखेर बिहीवारै वरिष्ठ अधिवक्तासहित सयभन्दा बढी कानुनव्यवसायीले हस्ताक्षर संकलन गरेका छन् । रिटमा हुने प्रराम्भिक बहसमा आफूले पनि सहभागिता जनाउन पाउनुपर्ने माग उनीहरूको छ। परिषदको बैठक डाकिए पनि कानुनमन्त्री अजयशंकर नायक र अर्का सदस्य रामप्रसाद सिटौला काठमाडौंबाहिर रहेको र वरिष्ठ न्यायाधीश पराजुली विद्यमान परिस्थितिमा बैठकमा उपस्थित नहुने संकेत प्राप्त भएपछि कोरमको अभावमा बैठक स्थगित हुने निश्चितप्रायः रहेको स्रोतले बतायो ।

सामान्यतया प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअगावै योग्य न्यायाधीशको नाम संवैधानिक परिषदमा लेखी पठाउने न्यायिक परम्परा यसपल्ट भंग भएको छ। परिषदका सचिव सुवेदीले प्रधानन्यायाधीशको निर्देशनपछि आफूले बैठकको चाँजोपाँजो मिलाउने प्रयासमा रहेको बताए। ‘निर्देशन प्राप्त हुनासाथ बैठकको मिति र समय तय गर्ने प्रयास भइरहेको छु, सचिव सुवेदीले भने। ‘प्रधानन्यायाधीशले बैठक राख्न भने पनि तीनजना परिषद् सदस्य नै बैठकमा सहभागिता जनाउन इच्छुक नभएको बुझिन्छ। उहाँहरू उपस्थित नभई बैठकको कोरम पुग्दैनु, सर्वोच्च स्रोतले भन्यो, ‘अब जेठ २४ अघि परिषद् बैठक बस्ने सम्भावना करिब करिब समाप्त भएको छ।

सदस्यहरू पराजुली, नायक र सिटौला बैठकमा उपस्थित नभएमा परिषद् स्वतः अल्पमतमा पर्ने अवस्था रहन्छ । प्रधानमन्त्रीको कोटामा सदस्य बनेका पदमप्रसाद वैदिक भने बीचको भूमिकामा रहेका कारण बैठकमा उपस्थित हुने नहुने निश्चित छैन ।

अन्नपूर्ण

विशेष