मुख्य समाचार

भरतपुरप्रकरणः च्यातिएका मतपत्र सर्वोच्चमा अाइपुगे, असार २३ गते सुनुवाइ

भरतपुरप्रकरणः च्यातिएका मतपत्र सर्वोच्चमा अाइपुगे, असार २३ गते सुनुवाइ

असार - १३ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा मतगणनाकाक्रममा च्यातिएका मतपत्रसहित आवश्यक कागजात सर्वोच्च अदालतमा आइपुगेको हुँदा यही असार २३ गतेका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले भरतपुरमा च्यातिएका मतपत्रसहित अन्य कागजपत्र अदालतमा आइपुगेकाले यही असार २३ गतेका लागि पेसी तोकिएको जानकारी दिए ।

सर्वोच्च अदालतको आदेशबमोजिम च्यातिएका मतपत्रसँगै मतगणना स्थगित मुचुल्का, मतगणना स्थगन गर्ने मुख्य निर्वाचन कार्यालयको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन पनि अदालतमा पेस गरिएको छ ।

कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले यही असार ६ गते च्यातिएका मतपत्र, निर्वाचन आयोगका पुनः मतदान गराउने निर्णयलगायतको आवश्यक कागजपत्र एक हप्ताभित्र अदालतमा पठाउन आदेश जारी गरेको थियो ।

गत जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिका वडा नम्बर–१९ को मतगणना स्थगित भएको भएको थियो । मतपत्र च्यातिएपछि निर्वाचन आयोगले गरेको पुनःमतदानको निर्णयविरुद्ध भरतपुर महानगरपालिका–१९ का वडासदस्यका उम्मेदवारसमेत रहेका गुन्जमान विकले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

विशेष