नेपालमा आइडलमा प्रताप र एपी वानको मिलेमतोः सेटिङमा प्रताप ल्याइएका थिए, सेटिङ मै आउट गरिए (भिडियोसहित)
‘भोट लुकाएर धोका नै गरियो म माथि’
असार १३ । नेपाल आइडल प्रतियोगिताको ‘टप’ १८ बाट बाहिरिएका प्रतिभाशाली गायक प्रताप लामाले आफूले पाएको भोट कति हो थाहा नपाएको बताएका छन् । दर्शकको भोटिङ गर्दा टप १८ को एक समूहमा परेका उनले अन्य प्रतिस्पर्धी भन्दा कम भोट पाएको भन्दै प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।
नेपालआजसँग कुरा गर्दै उनले भने, ‘मलाई तपाईको सबैभन्दा कम मत आएको छ भनियो । तर त्यो कम मत भनेको कति हो थाहा छैन । एपी वान टेलिभिजनले त्यो मत सार्वजनिक गरेको छैन । सायद कार्यक्रमको नीति अन्तर्गत नै सार्वजनिक नगरेको होला ।’
लामाका प्रशंसकहरुले उनको बहिर्गमनलाई स्वभाविक मानेका छैनन् । भोटिङ पनि धेरैले गरेका थिए । तर उनी आउट भएपछि धेरेले भनेछन्, ‘तपाई माथि अन्याय भयो । धाँधली भयो । हामी एपी वान टिभी घेराउ गर्छौं । आगो लगाइदिन्छौं ।’ तर प्रतापले प्रतिस्पर्धाको नियम पालना गर्छु भनेर गइसकेपछि आउट भएपछि जथाभावि गर्नु हुँदैन भनेर प्रशंसकहरुलाई सम्झाइरहेका छन् ।
तीन वर्ष अघि नेपाली तारा बनेका प्रतापको जजमेन्ट गर्ने इन्दिरा जोशी त्यही नेपाली ताराको प्रतिस्पर्धामा अन्तिम पाँचबाटै कुनै बेला आउट भएकी थिइन् । अन्तिम पाँचमा परेकोले उपाधि विजेताको मूल्यांकन गरिरहेको थियो । उनी भन्छन्, ‘त्यो एक संयोग मात्रै हो । म तीन वर्ष अघिको नेपाली तारा हो । इन्दिरा दिदी १० वर्ष अगाडिको फाइनलिस्ट हो । म भन्दा धेरै अनुभवी हो उहाँ, यसकारण उहाँ त्यो पदका लागि डिजर्भ गर्नुहुन्छ ।’
अहिले कतिपय मानिसहरुले प्रताप लामा र एपी वान टेलिभिजनले योजना बनाएर नै यो काम गरेको शंका पनि गरेका छन् । नेपाल आइडलको उचाई बढाउन नेपाली तारा विजेतालाई योजना अनुरुप नै भित्र्याइयो । अन्तिम १८ सम्म ल्याइयो । अनि निकालियो । यहि कारण टप १८ बाट आउट हुँदा पनि प्रतापमा कुनै दुःखको भाव देखिएन । किनभने यो ‘प्रिप्लान्ड’ थियो ।
तर यो कुरा जरैदेखि खारेज गर्छन प्रताप । उनले भने, ‘त्यस्तो केही पनि होइन । म संघर्ष गर्न रुचाउन मान्छे हो । एउटा उपाधि जितेकै हो । उपाधिको भोक मेटिएको थिएन । फेरि कोसिस गरेँ । असफल भएँ । त्यति हो । मिलेमतो भन्ने केही छैन ।’
नेपालआजसँगको बसाइका क्रममा हँसिला, फरासिला प्रतापले मीठा मीठा गीतहरु पनि सुनाए ।