मुख्य समाचार

मतपत्रमै एसिड राखेर मत खसाले, अनि भयो आगलागी

मतपत्रमै एसिड राखेर मत खसाले, अनि भयो आगलागी

असार १४ । रोल्पामा एक मतदाताले मतपत्रमा एसिड राखेर मत खसालेका छन् । जसका कारण मतपेटिकामा नै आगलागी भएको छ । रोल्पा नगरपालिका वडा नम्बर १० भनभने मतदान केन्द्रमा एक मतदाताले मतपत्रमा एसिड राखेर मतपेटिका भित्र खसालेपछि आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त मतपेटिका भित्रका केही मतपत्र जलेको प्रहरीको भनाइ छ । अहिलेसम्म उक्त मतदान केन्द्रमा १ सय ५० मत खसेको थियो । उक्त घटनापछि मतदान स्थगित भएपछि स्थानीय राजनीतिक दलका नेताले खसेको १ सय ५० मत बदर गरेर पुनः मतदान सञ्चालन गर्न माग गरेका छन् ।

रोल्पाका प्रमुख निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीले सुरक्षामा लापरबाही भएकाले आगजनी भएको आरोप लगाएका छन् ।
‘लाइटर वा कुनै पनि विस्फोटक पदार्थ मतदान केन्द्रमा लैजान नपाउने भनेर खानतलासी लिन भनिएको थियो तर प्रभावकारी सुरक्षा निगरानी नहुँदा यो घटना हुनु दुभाग्र्यपूर्ण छ’, ज्ञवालीले भने ।

प्रमुख निर्वाचन अधिकृत ज्ञवाली सदरमुकामबाट घटनास्थलतर्फ प्रस्थान गरेका छन् । घटनास्थल सदरमुकामबाट अढाइ घन्टाको पैदल दुरीमा पर्छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मतदान बहिष्कार गरे पनि केही कार्यकर्तालाई निर्वाचन बिथोल्न मतदान केन्द्रसम्म पठाएको हुनसक्ने अनुमान सुरक्षाकर्मीले गरेका छन्।

विशेष