दलहरुबीच झडप भएपछि बझाङ र अछामका मतदान अवरुद्ध,
असार १४ । बझाङ र अछामका दुई केन्द्रमा राजनीतिक दलहरुबीचको झडप भएपछि मतदान अवरुद्ध भएको छ ।
सामान्य विवादमा नै मावि केन्द्र पडेसमा कांग्रेस र एमालेबीच झडप भएको हो । झडपमा कांग्रेस उम्मेदवार प्रेम खड्का समेत घाइते भएका छन् ।
जयपृथ्वी नगरपालिकाकै अर्को मतदान केन्द्रमा रहेका अनेरास्ववियुका महासचिव ऐन महरले भने मतदान सुचारु गर्न वार्ता भइरहेको बताएका छन् ।
यस्तै अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडप नियन्त्रण्मा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ ।
स्थिति तनावपूर्ण भएपछि मतदान कार्य स्थगित भएको हो । मेल्लेखमा माओवादी र कांग्रेसबीच तालमेल छ भने एमाले एक्लै प्रतिस्पर्धामा छ । दुई दिनअघि एमाले ७ नम्बर प्रदेश संयोजक भीम रावलले मेल्लेख पुगेर कार्यकर्ता उत्तेजित पारेको आरोप माओवादीले लगाएको छ ।
यसैबीच मेल्लेख गाउँपालिका वडा नम्बर ७ दुर्गा मावि मतदान केन्द्रमा केरमेट गरिएका मतपत्र वितरणपछि अवरुद्ध भएको मतदान प्रक्रिया सुचारु भएको छ । मतदान अधिकृत अमरवहादुर स्वाँरले केरमेट गरेको मतपत्र बाँडेको भन्दै बिरोध भएको थियो ।
४० ओटा मतपत्रमा पछिाडि केरिएको थियो । एमालेका प्रतिनिधिले उक्त मतपत्रमा प्रश्न उठाएर विवाद शुरु गरेका थिए । ०१०२८०१, ०११०२८५०० देखि ०१०३००० सम्मका मत पत्र केरमेट गरिएको अवस्थामा मतदातालाई वितरण गरेपछि विवाद भएको हो ।