दरबार हत्याकाण्ड: वीरेन्द्रको वंशनाश ‘शाही सेना’बाटै !
काठमाडाै । संयोगले, आज जेठ १९ शुक्रबार नै परेको छ । २०५८ साल जेठ १९ मा राजा वीरेन्द्रसहित उनको वंश नाश गरिएको थियो । त्यो हत्याकाण्डले नेपालमा गणतन्त्रको बाटो खोलेको थियो ।
दाजु वीरेन्द्रको वंशनाशपछि भाई ज्ञानेन्द्रले मुस्कानसहित नेपालको राजगद्दीमा बसेर श्रीपेच लगाएका थिए । त्यो एक यस्तो दिन थियो, जसबाट आम नेपालीलाई राजसंस्थाप्रतिको आश्था समाप्त भएर गएको थियो । नेपालीका प्रिय राजा वीरेन्द्रको वंशनाशपछि धेरैले नयाँ राजा ज्ञानेन्द्रप्रति वीरेन्द्रको झै सम्मान दर्शाउन सकेनन् । नभन्दै उनी राजा भएको पाँच वर्ष बित्न नपाउँदै नेपाली जनताले उनलाई मात्रै होइन नेपालको राजसंस्थालाई नै उखलेर फालिदिए ।
राजा वीरेन्द्रको वंश नाश भएको यतिका वर्षहुँदासम्म पनि त्यो रहस्यमय हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउने काम गरिएन । धेरै मानिसहरुले ‘अझैसम्म पनि रहस्य पत्ता लागेन’
भन्छन् । जबकी रहस्य पत्ता लगाउने कोसिस नै भएको छैन भने कसरी वास्तविकता थाहा हुन्छ । ६४ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनले दरबार हत्याकाण्डको छानविन गर्ने बताएका थिए । तर १७ हजारको ज्यान लिने असंख्य काण्डै काण्डको बीचमा त उनी आफै छन् । उनले के छानविन गर्छन् भन्ने शंका सत्य सावित भयो ।
कैयन आधार र प्रमाणहरुले राजा वीरेन्द्र र उनको परिवारको हत्यामा कतै नेपाली सेनाकै हात त छैन ? शंकाका आधार र नसुल्झिएका प्रश्नहरु यस्ता छन्ः
– हत्याकाण्डको बेला महेश्वरसिं भन्ने व्यक्ति आफैसंँग रहेको पारस शाहको भनाइ छ तर महेश्वरसिंले घटनाको बेला आफूले पारसलाई नदेखेको बयान छानविन समितिलाई दिएका थिए ।
– धीरेन्द्रका ज्वाई राजीव शाहीले २ मीनेटभित्र सबैको हत्या भएको बताएका थिए । तर अन्यले राजपरिवारका सबै सदस्यहरु मरेपछि पनि गोली चलिरहेको बताएका थिए ।
– राजीव शाहीका अनुसार नशाले लठीएर युवराज दिपेन्द्र उठ्न नसक्ने अवस्थामा थिए । त्यो अवस्थामा भएका व्यक्तिले पाँच देखि सात केजीका राइफल बोकेर कसरी ताकी ताकी ज्ञानेन्द्र शाहका परिवार बाहेकलाई गोली प्रहार गरे रु घटना भएको त्रिभुवन सदनको वरिपरिको बगैचामा समेत धेरैलाई लखटेर मारिएको थियो । यस्तो कसरी भयो ?
– दीपेन्द्ररका निजी सचिव सौजन्यकुमार जोशीले हत्याकाण्ड दीपेन्द्रले गराएको हो भन्न आफूलाई दबाब दिएको ६५ सालमा एक पत्रिका मार्फत खुलासा गरेका थिए । त्यही कारण उनलाई जागिरबाट निकाला गरियो ।
– जर्नेल टीका धमलाले आफू घटनाको बेला घरमा रहेको र खबर आएपछि छाउनीमा गएको बयान दिएका छन् भने केशवबहादुर महतले हत्याको बेला टीका धमला फोनमा खबर गर्न व्यस्त रहेको बताएका छन् ।
–तत्कालिन जर्नेल विवेक शाहले दीपेन्द्र रक्सीले मातेको अवस्था नरहेको लेखेका छन् भने प्रत्यक्षदर्शी भनि बयान दिनेहरुले मातेको अवस्थामा रहेको बयान दिएका छन् । धेरैजसो प्रत्यक्षदर्शीहरुले युवराज दीपेन्द्र मातेर खुट्टै टेक्न नसक्ने अवस्थामा रहेका बयान दिएका थिए । त्यस्तो अवस्थामा रहेका व्यक्तिले कसरी छानी छानी गोली हाने रु सबैलाई गोली हानेर मारेपछि ज्ञानेन्द्रका छोरा पारस शाहले सरकार हामीलाई माफ वक्सीयोस भन्दैमा के कारणले उनीहरुलाई चाही छुट दिए ?
– त्रिभुवन सदन बाहिर खानपिन गरिरहेका एडिसीहरुले गोलीको आवाज समेत सुनेनौ भन्ने वयान छानविन समितिलाई दिएका थिए । सदन भित्र सयौ राउण्ड गोली चल्ने तर बाहिरका अंगरक्षकहरुले नसुन्ने कसरी भयो ?
दरबार हत्याकाण्ड पछिका घटनाक्रमले पनि दरबारहत्याकाण्ड झन रहस्यमय बनाएको छ । हत्याकाण्ड हुदा प्रधानसेनापति प्रज्वलशमशेर राणा थिए । उनले हत्याकाण्ड पछि राजसंस्थाका सदस्यको सुरक्षा गर्ने काम सेनाको होइन भन्ने अभिव्यक्ति दिएका थिए । दरबारमा विशेष तालिम पाएका ४ हजार सेना सुरक्षाका लागि तैनाथ थिए । सेनाको घेरामा भएको हत्याकाण्डको जिम्मेवारी सेनाले लिएन । खासमा त्यसबेला तत्कालीन शाही नेपाली सेनाको भूमिका रहस्यमय थियो । प्रधानसेनापतिको हैसियतले सबैभन्दा असक्षम प्रमाणित हुनु पर्ने व्यक्ति प्रज्वलशमशेर राणा नै थिए । तर पछि उनैलाई राजदुत बनाएर ज्ञानेन्द्र शाहले पुरस्कृत गरे ।
यसबाट ज्ञानेन्द्र शाह–प्रधानसेनापतिबीच अन्तरंग सम्बन्ध पहिलेदेखि नै रहेछ भन्ने बुझ्न गाह्रो भएन ।