समाज

 काठमाडौँ पछि अब पोखरामा पनि ‘हर्न निषेधित’ गरिने

 काठमाडौँ पछि अब पोखरामा पनि ‘हर्न निषेधित’ गरिने

असार – १६ । पोखरा लेखनाथ महानगरपालिकालाई आगामी साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने भएको छ ।
महानगर कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले यस नगरपालिकालाई ध्वनी प्रदूषणबाट मुक्त गर्ने योजनाअनुरुप हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिए ।

ट्राफिक कार्यालयले निर्धारण गरेको स्थानलाई समेटेर हर्न निषेधित योजना तयार पारिएको जानकारी दिँदै उनले यसको सफताका लागि सबै पक्षको सहयोग अपरिहार्य भएको बताए ।

‘महानगरलाई कुरुप बनाउने सडकमा रहेका विद्युत्, टेलिफोन र विभिन्न केबुलका पोल र तारलाई क्रमिकरुपमा व्यवस्थित गरिने छ,’ उनले भने, ‘पहिलोचरणमा पोखराको मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक र लेकसाइडबाट काम थाल्ने सोच बनाएका छौं ।’

उनका अनुसार राजमार्गबाहेक महानगरभित्र रहेको २७ किलोमिटर पक्की सडक यही असार महिनाभित्र मर्मत गरिने छ भने सहरका विभिन्न चोकमा रहेका आइल्यान्डलाई निकट भविष्यमा पाँच फिटको बनाएर सडकलाई फराकिलो बनाइने योजना छ ।

सहरमा पशुचौपाया छाडा छोड्ने प्रवृत्तिले समस्या आएकाले यसको तत्काल नियन्त्रणका लागि पहल गरिने उनले बताए ।

स्थानीय निकायलाई दिएको अधिकार भित्र रहेर भौतिक संरचना तयार पार्ने र महानगरलाई स्मार्ट सिटी घोषणा गर्ने चर्चा गँर्दै उनले यसका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

श्रमजीवी पत्रकारका हक हितका लागि पनि महानगरका तर्फबाट केही सहयोग गर्ने सोच बनाइएको पनि नगरप्रमुख जिसीको भनाइ थियो ।

विशेष