मुख्य समाचार

निर्वाचन आयोगले भन्यो–‘उम्मेदवार उपस्थित नभएपनि मतगणना गर’

निर्वाचन आयोगले भन्यो–‘उम्मेदवार उपस्थित नभएपनि मतगणना गर’

असार - १६ । निर्वाचन आयोगले दोस्रोचरणअन्तर्गत् स्थानीय तह निर्वाचनको मतगणनाकार्यमा उम्मेदवार वा निजका प्रतिनिधि उपस्थित नभए वा हस्ताक्षर नगरेको अवस्था पनि मतगणनाकार्य अगाडि बढाउन सम्बन्धित सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवको अध्यक्षतामा शुक्रबार बसेको आयोगको बैठकले मतगणनाकार्यमा सबै वा केही उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थिति नभएमा वा निजहरु उपस्थित भएपनि सम्बन्धित मुचुल्कामा सहीछाप नगरेको अवस्थामा पनि मतगणना अगाडि बढाउने निर्णय गरेको हो ।

मतगणनाकार्यमा उम्मेदवार उपस्थित भएपनि मुचुल्कामा हस्ताक्षर नगरेमा सोही व्यहोराको मुचुल्का गरी कुनै उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित भएमा निजहरुको र उम्मेदवार वा प्रतिनिधि उपस्थित नभएमा वा निजहरुले सहीछाप नगरेमा उपस्थित अन्य व्यक्ति तथा कर्मचारीको सहीछाप गराइ मतगणनाकार्य अगाडि बढाउन निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

स्थानीय तह निर्वाचन ऐनमा निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेदवार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनुपर्ने अवस्थामा उपस्थित नरहेमा वा निजमध्ये कसैले गर्नुपर्ने काम नगरेमा सोही कारणलेमात्र मतदानको वा मतगणनाको काम रोकिने छैन भन्ने व्यवस्था रहेको छ ।

विशेष