देश

११ दिनदेखि माडी बासी अन्धकारमा, खराबी पत्ता लगाउन भारतबाट मेसिन ल्याइयो

नारायण ढुँगाना

११ दिनदेखि माडी बासी अन्धकारमा, खराबी पत्ता लगाउन भारतबाट मेसिन ल्याइयो

 

असार - १६ । चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनि गाडिएको विद्युत्को तारमा देखिएको खराबी पत्ता लगाउन भारतबाट मेसिन ल्याइएको छ । 

तारमा खराबी पत्ता लगाउन नेपालको प्रविधिले नसकेपछि जमिनमुनिको खराबी पत्ता लगाउने मेसिन (केवल फल्ट फाइन्डिङ मेसिन) भारतबाट ल्याइएको हो । आज चितवन आइपुगेको मेसिनलाई आजैदेखि प्रयोगमा ल्याइने छ । निकुञ्जभित्रको जमिनमुनि बिच्छ्याइएको तारको खराबीका कारण विगत ११ दिनदेखि दक्षिण चितवनको माडी नगरपालिका विद्युत्विहीन भएको छ । असार ५ देखि यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो । 

“अन्डरग्राउन्डका तीनमध्ये एउटा केवलमा खराबी देखिएको छ, स्थानीय स्रोतसाधनबाट हेर्दा पत्ता लागेन, पत्ता लगाउने मेसिन नेपालमा नभएकाले भारतबाट मेसिन मगाइएको हो” – नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले भने। उक्त प्रविधि प्रयोग गर्न जान्ने विज्ञ प्रविधिज्ञ पनि सँगै आएका छन् । 

उनका अनुसार जमिनमुनि गाडिएको तारको माथि उक्त मेसिन हिँडाउँदा खराबी भएको ठाउँमा आवाज परिवर्तन भई बिग्रिएको सङ्केत दिन्छ । आजदेखि नै खराबी पत्ता लगाउन सुरु गरिने पौडेलले जानकारी दिए। भरतपुर वितरण केन्द्रका सुपरभाइजर र तथा माडी क्षेत्रका इन्चार्ज आनन्द कुँवर समस्या पत्ता लगाउन नसकिएपछि भारतबाट मेसिन मगाउन बाध्यता भएको बताउछन् । 

गर्मीको समयमा विद्युत् नहुँदा माडीवासीलाई साह्रै समस्या परेको स्थानीय श्रीप्रसाद दवाडी बताउछन् । खम्बा गोडेको दशकौँपछि बल्लतल्ल गएको मङ्सिरदेखि यहाँ विद्युत् बाल्न सुरु भएको हो ।  विसं २०५७ सालमा माडीमा विद्युत् आपूर्तिका लागि काम गरिए पनि त्यो योजना असफल भएपछि २०६७ सालदेखि नयाँ परियोजना आएको थियो ।

भारतीय सैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा सञ्चालित भरतपुर–चनौली–माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले २०७३ साल कात्तिकमा विद्युत् पु¥याएको थियो । अहिले माडीमा करिब चार हजार ग्राहक भइसकेका छन् भने ग्राहक सङ्ख्या बढ्दो छ । 

विशेष