प्रवास

कतारमा कार्यरत नेपालीको सुरक्षामा चासो

कतारमा कार्यरत नेपालीको सुरक्षामा चासो

 

असार १६ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले कतारका राजदूतसँग त्यहाँ कार्यरत नेपालीको सुरक्षाका सम्बन्धमा विशेष चासो व्यक्त गरेका छन् ।

कतारका राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले आज गर्नुभएको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री महराले नेपालीको सुरक्षाका बारेमा जानकारी लिए। आफ्ना नागरिकको सुरक्षाका सन्दर्भमा आफूले दैनिक सूचना लिइरहेको बताउँदै मन्त्री महराले नेपालीको सुरक्षाका विषयमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गरे ।

पछिल्लो समय कतारमा देखिएको कूटनीतिक समस्या वार्ता र संवादबाट सुल्झनुपर्नेमा जोड दिँदै उनले नेपालले शान्तिपूर्ण तवरबाट समस्याको समाधान होस् भन्ने चाहेको बताए। उनले आवश्यक परेमा नेपालले पनि शान्तिपूर्ण समाधानका लागि पहल गरिदिने विश्वास दिलाए ।

मन्त्री महराले कतारका व्यवसायीले अन्य अरब मुलुकमा सञ्चालन गरेका कम्पनीमा कार्यरत नेपालीका सन्दर्भमा चासो व्यक्त गर्दै त्यसतर्फ कतारी सरकारको ध्यान जानुपर्ने बताए ।

जवाफमा कतारका राजदूत हमरले कतार र अरब राष्ट्रमा कतारका व्यवसायीले सञ्चालन गरेका कम्पनीमा कार्यरत नेपालीको सुरक्षामा आफ्नो सरकारले पूर्ण ध्यान दिने विश्वास दिलाए । उनले अरब मुलुकमा देखिएको कूटनीतिक समस्याका कारण नेपालीको सुरक्षामा कुनै समस्या नभएको स्पष्ट गर्दै आगामी दिनमा दुई देशबीच रहिआएको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।

यसैबीच परराष्ट्रमन्त्री महरासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जद हुसेनले आज नै शिष्टाचार भेटवार्ता गरे । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच सार्कलाई क्रियाशील बनाउने सन्दर्भमा भएका निर्णयलाई द्रुत तवरले अगाडि बढाउने विषयमा छलफल भयो । सो अवसरमा मन्त्री महराले सार्कको मन्त्रिस्तरीय बैठक अगाडि बढाउन पहल गरिने बताए ।

उनले सार्क शिखर सम्मेलनका लागि उपयुक्त वातावरण बनाउन नेपालले पहल गर्ने तथा सदस्य राष्ट्रबीच निरन्तर रुपमा द्विपक्षीय एवम् बहुपक्षीय छलफल गरेर अगाडि बढ्ने बताए।

सो अवसरमा महासचिव हुसेनले सार्कलाई चलायमान गराउन सदस्य राष्ट्रले सक्रियता देखाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी परराष्ट्रमन्त्री महरासँग नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले शिष्टाचार भेटवार्ता गरे । सो अवसरमा उनीहरुबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक हरि लामिछाने जानकारी दिए ।

 

विशेष