समाज

विद्यार्थी यार्सा टिप्न लागेपछि विद्यालय रित्तै, सुनसान भयो गाउँबस्ती

विद्यार्थी यार्सा टिप्न लागेपछि विद्यालय रित्तै, सुनसान भयो गाउँबस्ती

दीपबहादुर घर्ती

जेठ २० । बर्षदिनभरको पढाई खर्च र नुनतेलको जोहो गर्न जाजरकोटको उत्तरपूर्वी क्षेत्रका अधिकाँश विद्यार्थी यार्सा टिप्न कर्णालीका पाटनतिर लागेपछि यस क्षेत्रका विद्यालय रित्तै भएका छन् । बहुमुल्य जडिबुटी यार्सागुम्वा टिप्न ६ कक्षा देखी माथिका सवै विद्यार्थी पाटनतिर लागेपछि विद्यालय विद्यार्थी विहिन भएका हुन् ।

६ कक्षा देखी माथिका सवै विद्यार्थी यार्चा खोज्न लेकतिर गएका कारण पठनपाठन शुरु हुन नसकेको बीरेन्द्र ऐश्वर्य उच्च माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए । ‘विद्यार्थी नै आउँदैनन् के पढाउनु ?’ उनले भने– ‘एक महिना दुःख गर्दा बर्षदिनभरको पढाई तथा घरखर्च टर्र्ने भएकोले अधिकाँश विद्यार्थी यार्सा टिप्न कर्णालीका जुम्ला, डोल्पा, मुगुका पाटनमा जाने गर्दछन् । यतिवेला जिल्लाका नायकवाडा, रामीडाँडा, रोकायगाँउ, पैक, सक्ला, रग्दा, भगवति, लहाँ, खगेनकोट लगायतका गाविसका करीव ५ हजार स्कुले विद्यार्थी यार्सा खोजेर पैसाको जोहो गर्न पाटनतिर लागेका छन् ।’

पहिले चुनावका कारण विद्यालय खुलेनन्, चुनाव सकिने वित्तिकै अहिले विद्यार्थी यार्सा टिप्न गएकाले पढाई हुन सकेन उनले भने–‘यो यस जिल्लाको बर्षेनी समस्या हो ।’ वीरेन्द्र हिमालय उच्च मावि रग्दामा १० कक्षामा अध्ययनरत अर्जुन मल्ल पढाई खर्च र घरको गर्जो टार्न विगत ४ बर्ष देखि यार्सा टिप्न जाने गरेको र यसपाली पनि यार्चा टिप्न पाटनतिर जान थालेको बताए । उनले भने, ‘राम्रो सिजन भयो भने एक लाख सम्म आम्दानी हुन्छ ।

बर्षदिन भरीको पढाई खर्च टर्छ ।’ म मात्र होईन विद्यालयका १२/१३ बर्ष माथिका सवै विद्यार्थी यार्सा टिप्ने जाने गरेका छन् । सबै विद्यार्थी यार्सा टिप्न गएपछि विद्यालयमा जेठ महिना भरी पढाई हुँदैन अनि ढुक्क हुन्छ । उताबाट आएपछि पढ्ने गरेको मल्लको भनाई छ । यार्सा टिप्ने सिजनमा पढाई नहुँदा कोर्स पुरा नहुने र पठनपाठनमा विद्यार्थी कमजोर हुने गरेका छन् । सबैभन्दा बढी एसईईका विद्यार्थी बढी मारमा पर्ने गरेका छन् । गरीवी नै मुख्य समस्या हो त्रिवेणी नलगाड नगरपालिका ५ का अभिभावक अर्जुन सिंहले भने, ‘यार्सा टिप्ने समयमा यस क्षेत्रका सवै विद्यालय बन्द हुन्छन् । यसवेलाको सट्टा अरु समयमा पठनपाठनको व्यवस्था मिलाउन’ पर्छ ।’

गरीवी र आर्थिक अभावका कारण यस क्षेत्रका विद्यार्थीको प्रमुख आम्दानीको स्रोतको रुपमा यार्सा रहेको छ । स्थानिय सामुदायिक बनले बुधबारबाट यार्चा टिप्नका लागी पाटनहरु खुला गरेका छन् । एउटा यार्सालाई ५ सय रुपैयामा सोही ठाँउमा ठेकेदारले खरीद गर्ने गरेका छन् । राम्रोसँग खोज्न सक्नेले एक जना विद्यार्थीले ३ लाख सम्म कमाउने गरेका छन् । विद्यालय निरीक्षक यज्ञश्वर खत्रीले यार्सा संकलनका कारण बर्षेनी त्रिवेणीनलगाड नगरपालिकाका र बारेकोट गाँउपालिकाका पाँच दर्जन विद्यालयका हजारौ विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको बताए । हामीले रोकेर पनि रोकिदैनन् । बर्षदिनभरको कमाई गर्ने बेला कसरी रोक्ने ? यस बेला बन्द भएका विद्यालयलाई बर्षे विदाको बारेमा सोच्नु पर्ने भएको उनले बताए ।

गाँउ सुनसान

विद्यार्थी मात्र होईन कामको खोजी गर्न बर्षेनी भारत ( कालापार ) जाने त्यहाँका वेरोजगार युवायुवतीहरु समेत भारत जान छोडेर यार्सा खोज्न पाटनतिर जाने गरेका छन् । यार्सा खोज्न खाद्यन्न लत्ता कपडा सहित गाँउका अधिकाँश मानिसहरु पाटनतिर हिडेपछि गाँउहरु सुनसान भएको रामीडाँडा ६ का चन्द्रबहादुर खड्काले बताए । गाँउमा अहिले बृद्धबृदा र केटाकेटी मात्र रहेको उनले सुनाए । चुनाव सकेर, खेतीपाती लगाएर धेरै युवायुवा युवती यार्सा खोज्न पाटनतिर लागेका छन् । यार्सा संकलन गरेर त्यहाँका मानिसले लाखौ रकम जिल्लामा भित्र्याउने गरेका छन् ।

yarsagumba

विशेष