समाज स्वास्थ्य

बाजुराका स्वास्थ्य संस्थामा जीवनजलसमेत छैन

बाजुराका स्वास्थ्य संस्थामा जीवनजलसमेत छैन

जेठ २० । बाजुराको विकट उत्तरी भेगमापर्ने हिमाली गाउँपालिका साविकको बिच्छया स्वास्थ्यचौकीमा सामान्य जीवनजल समेतको अभाव रहेको छ ।

दैनिक झाडापखालाका दशदेखि बाह्रजनासम्म बिरामी आउने भए पनि सामान्य जीवनजलसमेत नभएको स्वास्थ्य चौकीका इन्चार्ज कमल आचार्यले बताए ।

छोरालाई झाडापखालाको उपचारका लागि आएकी बिच्छया नेटाकी सुनकला रोकायाले सामान्य जीवनजलसमेत नपाएर रित्तो हात घरफर्किनु परेकाे थियाे । उनी जस्तै दैनिक दशदेखि बाह्रजना झाडापखालाको उपचारका लागि आउने बिरामीले सामान्य जीवनजलसमेत नपाउने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा फोनमार्फत खबर गरेको भए पनि जिल्लाबाट नै नआएको इन्चार्ज आचार्यले बताए । बिच्छयामा निजी औषधि पसलसमेत नभएकाले त्यहाँका बिरामी दुई तीन दिन लगाएर कोल्टी उपचारका लागि जान बाध्य भएका छन् ।

बिच्छया स्वास्थ्य चौकीमा जीवनजल अभाव भएको दुई साता भइसकेको छ । त्यस्तै सिटामोल, आँखा पाक्ने, कान पाक्ने औषधिलगायत एन्टिबाइटिककोसमेत चरम अभाव रहेको छ ।

परिवार नियोजनका साधनको अभाव भएको महिनाैँ भइसकेको छ । कण्डम, पिल्स, डिपो लगाउने सिरिन्जलगायतका परिवार नियोजनका साधन अभाव भएको एक महिनाभएको स्वास्थ्य चौकीमा कार्यरत अनमी सीता थापाले बताए ।

दैनिक सात आठजना परिवार नियोजनको साधनका लागि आउने गरेका छन् । यो स्वास्थ्य संस्था सदरमुकाम मार्तडीबाट चार दिनको पैदल दुरीमा रहेको छ । त्यहाँ सधैँजसो औषधि अभाव भइरहने गरेको छ ।

जिल्लामा पटकपटक खबर गरेकाे, थौरै औषधि मात्र पठाउँने गरेकाे जुन मन्दिरको प्रसाद बाँडे झै भएकाे चौकीका इन्र्चाज आचार्यको भनाइ छ । धेरै विकट भएकाले राज्यको पहुँच पनि नहुने गरेको छ । जिल्लाबाट कहिल्यै स्वास्थ्य संस्था अनुगमन नहुने गरेको स्थानीयवासी डबल थापाले बताए ।

स्वास्थ्य केन्द्रमा ३५ प्रकारका औषधि अनिवार्य भए पनि दश बाह्र प्रकारका मात्र रहेको संस्थाले बताएको छ । एकातिर औषधि अभाव अर्कोतिर स्वास्थ्यकर्मीको अभाव रहेको छ । अहिले एक जना अहेब, एकजना जिल्ला करार अनमी र एकजना कार्यालय सहयोगी मात्र रहेका छन् ।

एक जना एचए, एकजना अहेब, एकजना अनमी रिक्त रहेको छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएकाले उपचारमा समस्या भएकोे छ । बिच्छया मात्र नभई बाजुराका उत्तरी क्षेत्रका रुगिन, वाई, गोत्री, साप्पाटालगायतका स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

औषधि अभाव भएको खबरले क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि माग गरिएको भए पनि क्षेत्रीय कार्यालयमा नै औषधि अभाव रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत रमेश कुवँरले बताए । 

jeevan jal

विशेष