समाज

इलाम, कपिलवस्तु र सोलुमा नयाँ शक्तिले छान्यो उम्मेददार

इलाम, कपिलवस्तु र सोलुमा नयाँ शक्तिले छान्यो उम्मेददार

जेठ २१ नयाँ शक्ति पार्टीले दोस्रो चरणमा हुँने स्थानीय तह चुनावको लागि इलाम, कपिलवस्तु र सोलुखुम्बुमा उम्मेदवारहरु चयन गरेको छ ।

इलामको देउमाई नगरपालिकासहित चुलाचुली, रोङ र फाकफोकथुम गाउँपालिकामा उम्मेदवार छानिसकेको इलाम जिल्ला संयोजक डिल्ली चेम्जोङले जानकारी दिए ।

चेम्जोङका अनुसार देउमाई नगरपालिका मेयरमा प्रेम राई, चुलाचुली गाउँपालिका अध्यक्षमा कुमार वि.क, रोङ गाउँपालिका अध्यक्षमा केशव लुइटेल र फाकफोकथुम गाउँपालिका अध्यक्षमा सुरेन्द्र सुब्बालाई उम्मेदवार बनाएको छ ।

बाँकी सूर्याेदय, इलाम र माई नगरपालिका तथा माईजोगमाई गाउँपालिका, माङसेबुङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा भने नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त गठबन्धका तर्फबाट उम्मेदवार चयन गरिने संयोजक चेम्जोङले जानकारी दिए । संयुक्त उम्मेदवारीका लागि छलफल भइरहेको चेम्जोङले बताए ।

यस्तै कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका लागि मेयरमा नारायण खनाल र उपमेयरमा लक्ष्मी सारुलाई नयाँ शक्तिले उम्मेदवार बनाएको छ ।

नयाँ शक्ति र संघीय समाजबादी फोरमको संयुक्त उम्मेद्वारको घोषणा गरिएको नयाँशक्ति पार्टी नेपालका संघीय परिषद केन्द्रीय सदस्य विष्णुहरी शर्माले बताए ।

साथै बाणगंगा नगरपालिकाको वडा नम्बर ४, ७ र ९ मा वडा अध्यक्ष पदको उमेदवारमा अम्बिका राहुल, डाली थापा र गोविन्द बन्जाडेलाई सर्वसम्मत प्रस्ताव गरिएको छ । कपिलवस्तुमा ६ नगरपाालिका र ४ गाउँपालिका रहेका छन् ।

यस्तै सोलुखुम्बुको लिखु पिके, महाकुलुङ, सोताङ, दूधकोशी र दूधकौशिका गाउँपालिका प्रमुखका उम्मेदवारहरु छनौट गरेको नयाँ शक्तिले जानकारी दिएको छ ।

लिखु पिकेमा मुनिन्द्र बस्नेत, महाकुलुङ रामबहादुर खड्का, सोताङमा प्रेमबहादुर बस्नेत, दूधकोशीमा चन्द्रप्रसाद घिमिरे र दूधकौशिकामा मनिकुमार तामाङलाई प्रमुखको उम्मेदवार बनाएको नयाँ शक्तिले जानकारी दिएको छ ।

बाँकी भएका उपप्रमुख पद तथा वडाहरुमा संघीय समाजवादी फोरमसँगको संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार छनौट गरिने र त्यसका लगि फोरमसँग छलफल भईरहेको जनाइएको छ ।

यसैगरी प्युठान जिल्लाको केन्द्र रहेको प्युठान नगरपालिकाको मेयरमा भगवती सुवेदी र उपमेयरमा सिद्धिमान केसीलाई उठाउने निर्णय गरेको नयाँ शक्ति प्यूठानले बताएको छ । प्यूठानमा २ नगरपालिका र ७ गाउँपालिका रहेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा मुस्लिम समुदायका बाबु खाँ पठान र उपमेयरमा जय कुमारी खड्कालाई उमेदवार बनाएको छ ।

विशेष