मुख्य समाचार

भावी प्रधानमन्त्रीका लागि देउवाको एकल उम्मेदवारी

भावी प्रधानमन्त्रीका लागि देउवाको एकल उम्मेदवारी


जेठ २१ । प्रधानमन्त्रीका लागि ब्यवस्थापिका संसदमा आज हुने निर्वाचनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एकल उम्मेद्वारी परेको छ ।

संसद सचिवालयले शनिबार बिहान ११ देखि अपराह्न ४ बजेसम्मका लागि तोकेको समयभित्र सभापति देउवाको मात्र उम्मेद्वारी मनोनयन दर्ता भएको हो । प्रमुख प्रतिपक्षी एमालेले समेत मनोनयन दर्ता गर्ने चर्चा चलेपनि अन्तिम समयमा उम्मेद्वारी नदिने निर्णय गरेको थियो ।

मुलुकको ४० औं प्रधानमन्त्री चयनका लागि आज बिहान ११ बजे संसदमा निर्वाचन हुनेछ । प्रधानमन्त्रीमा देउवा निर्वाचित हुन संसदमा हाल कायम ५ सय ९३ सदस्य संख्याको बहुमत अर्थात २ सय ९७ मत आवश्यक पर्छ । राजधानीको नयाँबानेश्वरस्थित संसद भवनमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री पदका लागि बिहान साढे ११ बजे आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

देउवाको उम्मेद्वारीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक तथा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह समर्थक छन् । सत्ता हस्तान्तरण गर्ने भद्र सहमती पालना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले गत १० गते राजीनामा दिएपछि मुलुकको नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुन लागेको हो ।

भरतपुर महानगरपालिकामा मतगणना निरन्तरताको माग गर्दै एमालेले संसद अवरुद्ध गरेपछि संसद सचिवालयले सूचनामार्फत प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

विशेष