समाज

महिलाको सक्रियतामा सडक निर्माण

महिलाको सक्रियतामा सडक निर्माण

जेठ २२ । अन्नपूर्ण गाउँपालिका–८ नांगीमा महिलाको सक्रियतामा सडक आयोजना निर्माण भएको छ । साविक राम्चे गाविसको १ र २ नम्बर मा पर्ने नांगी गाउँका महिलाले सिप र श्रम प्रयोग गरेर सडक स्तरवृद्धि गरेका हुन् ।

फलामेडाँडा–नांगी–राम्चे सडक आयोजनाको भ¥याङबराह र झिमडाँडा क्षेत्रको सडक सोलीङ गर्ने काममा महिला परिचालन भएका उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण गर्बुजाले बताए ।

“चार सय २५ मिटर सडकमा ढुंगा बिछ्याएर सोलीङ गर्ने कार्यमा महिला खटिएका थिए” अध्यक्ष गर्बुजाले भने, “डेढ सय जना महिलाले एक/एक दिन श्रमदान र पाँच/पाँच दिन ज्यालामा काम गरेर सडकमा ढुंगा बिछ्याएका हुन् ।” उक्त योजनाका लागि जिल्ला समन्वय समितिले पाँच लाख र साविक गाविस कार्यालयले रु तीन लाख ५० हजार बजेट विनियोजन गरेको थियो ।

हिलोमा सवारीसाधन फस्ने समस्या भएको ठाउँमा ढुंगा बिछ्याएपछि सहज भएको छ । कच्ची सडकमा सवारीसाधन हिलोमा फस्ने समस्याले गर्दा आवतजावतमा कठिनाइ भएपछि गाउँका सबै महिला मिलेर सडक निर्माण गरेको उपभोक्ता समितिका सचिव माया पुनले बताए ।

बाहिरबाट मजदुर ल्याउँदा भनेको बेला काम नहुने, बजेट फिर्ता हुने र गुणस्तरीय काम नहुने भएपछि महिला अग्रसर भएका पुनले जानकारी दिए । उनीहरुले सुरु गरेको एक महिनाभन्दाअघि नै काम सम्पन्न गरेका छन् । आयोजनाबाट स्थानीयले रोजगारी समेत पाएका छन् ।

सडक निर्माणका क्रममा महिलालाई गाउँका पुरुषले पनि साथ दिएका थिए । पुरुष रोजगारीका लागि विदेश र सहरमा गएकाले नांगीमा सञ्चालन हुने खानेपानी, सडक, भवन निर्माणलगायतका योजनामा महिलाको सहभागिता बढी हुने गर्छ ।

अन्नपूर्ण–८ का वडा सचिव कृष्ण विश्वकर्माले नांगीका महिलाको सक्रियतामा सम्पन्न सडक आयोजना नमुनायोग्य भएको बताए । गत वर्ष पनि फलामे डाँडा नांगी राम्चे सडक आयोजनाको काम महिलाकै सक्रियतामा भएको थियो ।

sadak nirman

विशेष