श्रीमानको मुखबाट के सुन्न चाहन्छिन श्रीमती ?
जेठ २२ विवाहित जोडीहरूले सम्बन्धलाई मजबुत राखिरहनका लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ । एक श्रीमान् भएको नाताले तपाईंले अर्काकी छोरीलाई घरमा ल्याएपछि उनको माया र विश्वास जित्न प्रयत्न गर्नैपर्ने हुन्छ । उनलाई खुशी बनाउन ठूला ठूला कुरा गर्नै पर्दैन । यहाँ उल्लेख गरिएका साना कुरामा ध्यान दिनुहोला ।
१) हो, तपाईं एकदमै मेहनत गर्नुहुन्छ । अफिसमा दिनभरि खटिनुहुन्छ । तर तपाईंकी श्रीमती पनि घरको धेरै काम गर्छिन् । अझ जागिरे श्रीमती छिन् भने त डबल काम गरिरहेकी हुन्छिन् । त्यसैले तपाईं उनलाई धन्यवाद दिन नचुक्नुस् ।
२) श्रीमतीलाई धन्यवाद भनेर टार्नुभन्दा तिमीले राम्रो काम गरिरहेकी छौ भनिदिनुभयो भनी उनी खुशी हुन्छिन् ।
३) तपाईं अफिसबाट घर आउँदा थाकेको हुनुहुन्छ । उनी पनि त थाकेकी हुन्छिन् । त्यसैले उनलाई मद्दत गर्नुस् । सानोसानो कुरामा सहयोग गर्नुस् । जस्तै, भाँडा नै माझिदिनुस् न ।
४) आइ लभ यु मात्र भनेर पुग्दैन । किन तपाईं उनलाई माया गर्नुहुन्छ, कति धेरै माया गर्नुहुन्छ, अनन्तकालसम्म माया गर्नुहुन्छ भन्दा उनको हृदय गदगद हुन्छ ।
५) उनी जति उमेरकी भएपनि, तपाईंहरूको बिहे भएको जति समय बितेको भएपनि श्रीमतीले तपाईंको मुखबाट प्रशंसा नै सुन्न चाहन्छिन् । त्यसैले राम्री देखियौ मात्र नभनेर बबाल, अतीव सुन्दर, फ्यान्टास्टिक जस्ता विशेषण प्रयोग गर्नुस् । तर इमान्दार भएर भन्नुस् नि, झारा टार्ने हिसाबमा हैन ।
६) कहिलेकाहीँ बच्चाहरू पनि सम्हालिदिनुस् । यसो गर्दा श्रीमतीले आरामको मौका पाउँछिन् । पर्याप्त आराम पाएकी श्रीमती प्रायः धैर्यवान्, दयालु र मायालु हुन्छिन् ।
७) कहिलेकाहीँ श्रीमतीलाई लिएर बाहिर जानुस् । डेटिङ गर्नुस् न हौ श्रीमतीसँग पनि । उनीसँग समय बिताउँदा उनी खुशी हुन्छिन् ।
८) उनको जीवनमा कुनै तनाव रहेछ भने त्यसलाई बुझ्ने कोशिश गर्नुस् र समाधानतिर लाग्नुस् ।
९) म त फेरि पनि तिमीसँगै बिहे गर्छु भन्नुस् । यसो गर्दा तपाईंले उनीसँगको जीवन सुखी रहेको अनि तपाईं उनीप्रति प्रतिबद्ध रहेको देखिन्छ ।
१०) म तिम्रो लागि अझ बढी कसरी राम्रो हुन सक्छु भनेर श्रीमतीलाई सोध्नुस् । यो सुन्दा तपाईंकी श्रीमतीको मुटु पग्लिन्छ ।
एजेन्सीको सहयोगमा