भारतले पाकिस्तानलाई हरायो, आज अष्ट्रेलिया बंगलादेश भिड्ने
जेठ २२ । इंग्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
चिरपरिचित प्रतिद्धन्द्धी भारत र पाकिस्तानबीच आइतबार राति सम्पन्न खेलमा भारत १ सय २४ रनले विजयी भएको हो । बर्मीङ्घममा खेल मैदानमा भएको खेलमा पहिले व्याटिङ गरेको भारतले निर्धारित ४८ ओभरमा ३ विकेट गुमाएर ३ सय १९ रन बनायो ।
भारतका लागि रोहित शर्माले ९१ रन तथा कप्तान विराट कोहलीले अविजित ८१ रन जोडे । यसैगरी शिखर धवनले ६८ रन जोड्दा युवराज सिंहले ५३ रनको योगदान दिए ।
वर्षाले प्रभावित खेलमा पाकिस्तानलाई ४१ ओभरमा २ सय ८९ रनको नयाँ लक्ष्य दिईयो । तर पाकिस्तानी टोली ३४ औं ओभरमा १ सय ६४ रनमै समेटियो ।
पाकिस्तानका लागि अजहर अलीले ५० रन जोडे भने मोहम्मद हाफिजले ३३ रन बनाए ।
बलिङतर्फ भारतका उमेश यादवले ३ विकेट लिए । त्यस्तै हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले दुई–दुई विकेट लिए । च्याम्पियन्स ट्रफी क्रिकेटमा आज अष्ट्रेलिया र बंगलादेश भिड्नेछन् ।