दुःखी र पीडितको लागि भारी बोकेर हिँडिरहेको छु
सिताराम कट्टेल
सोलुखुम्बुबाट बुबा आमाको हात समातेर झापा झरेको एउटा डरपोक बालक, आज कलाकारिता हुँदै देश सेवामा निस्किएको छु। नमूना नेपाल कस्तो बन्ने र यसको अवधारणा कस्तो हुने भन्ने त भिडियोमा सार्वजनिक गरिसकेका छौं। मनमा खुसी र उमंग छ, आँट छ। र त्यतिकै मीठो डर पनि छ। त्रास पनि छ, अब के हुने हो, कसो हुने भनेर। जन्मेर आज ३३ वर्ष पुग्दासम्म जानेर बुझेर कुनै गल्ती गरेको छैन। कसैको चित्त दुखाउने प्रयास गरेको छैनजस्तो लाग्छ। तर मानव हुँ, केही कमीकमजोरी पनि रहे होलान्।
एउटा साधारण किसानको छोरो देश बनाउन सकिन्छ भनेर दिनरात घरपरिवार, आफ्नो पेसा नभनी गरिब, दुःखी र पीडितको लागि भारी बोकेर हिँडिरहेको छु। यो खटाइको अवधिमा आफ्नो व्यक्तिगत स्वार्थको लागि मात्र ध्यान दिएको भए हामीले राम्रै पैसा कमाउन सक्थ्यौं होला हाम्रो पेसाबाट।
तर हामीलाई हाम्रो कमाइभन्दा देश बनेको हेर्नुछ। हामीलाई देश बनाउनु छ। आज गरिब देशका नागरिक भएकै कारणले हामी नेपालीले विभिन्न देश पुग्दा विभिन्न खालका विभेद भोग्नुपरेको छ। हाम्रो अभियान त्यो विभेदलाई अन्त्य गर्नु पनि हो। हरेक प्राणी आफ्नो लागि बाँचेकै छ। तर मानिस बन्नका लागि अरुका लागि बाँच्नुपर्छ भन्ने लाग्छ मलाई। यही उद्देश्यले तानेर होला विभिन्न व्यक्तिबाट तुच्छ आरोप, गाली र अपशब्द सुन्दा पनि खासै चित्त दुख्दैन। बरु झन् मन प्रफुल्लित हुन्छ। अझ जाँगर थपिँदै जान्छ। जहाँ जाँदा पनि सबैले चिनेर माया र आशिर्वाद दिँदा पीडा बिर्सिन्छु, दुःख बिर्सिन्छु र फेरि पनि नेपाल र नेपालीको लागि सेवामा लाग्न प्रेरित हुन्छु। हामी स्वार्थी छौँ, तर त्यो स्वार्थ भनेको देश बनाउने र विश्वमा नेपाललाई चिनाउने नै हो।
आज हामी युरोप घुमेर आयौँ भन्दै खुसी हुन्छौँ। थाइल्यान्डलगायत अन्य देशमा बनेको डिस्नेल्यान्ड पुगेर आयौँ भन्दै मन्त्रमुग्ध बन्छौँ। भारतको अक्षधाम पुगेर नतमस्तक हुन्छौँ। अब हामी हाम्रै नमूना नेपाल घुम्नेछौं र गर्वले भन्नेछौं, नेपाल भित्रको नेपाल, नमूना नेपाल। आज हामी अरुको देशमा बनेको संरचना देखेर तारिफ गरिरहेको छौं। एकदिन विश्वभरिका मानिसहरुले पनि भन्नेछन्, ‘नेपालभित्र बनेको नमूना नेपाल हेरेर आयौं।’
म यो देशको सामान्य नागरिक, नेपाल आमाको छोरो। म यही धर्तीमा उब्जेको अन्न खाएर हुर्केँ। म यही देशकै पानी पिइरहेको छु। यहीँको हावामा स्वास लिइरहेको छु। यही माटोमा नेपाल सरकारले दिएको किताब पढेर ज्ञान हासिल गरेँ, गरिरहेको छु। सरकारले दिएको उज्यालोमुनि बसेर जीवन जिइरहेको छ। सरकारले दिएको भौतिक पूर्वाधारको उपभोग गरिरहेको छु। सरकारको हरेक नीति र नियमलाई पालना गरेर अगाडि बढिरहेको छु। यो अवधिमा हामीले चाहेको जति सुविधा सरकारले दिन सकेन होला। दिएको जतिले हामीलाई पुगेको छैन होला। तर जुनसुकै दलको सरकार आएपनि सरकारलाई दरिलो र बलियो बनाउन सकिएन भने देश कहिले पनि बन्न सक्दैन। त्यहीकारण जति पनि काम गर्यौं सरकारलाई दरिलो र बलियो बनाउन गरेका छौं। त्यसैले सरकारले पनि हामीलाई साथ र सहयोग दिन्छ भन्नेमा विश्वस्त छौं। सरकारको साथ पायौँ भने हामी नमूना नेपाल बनाएरै छाडछौँ, बनाएरै छाड्छौं। किनभने हामीलाई हाम्रो देश नेपाल विश्वमा चिनाउनु छ।
हो, यसको अनुमानित लागत ठूलो, अर्थात ५ अर्ब छ। मैले मेरो जन्म दिने बुवाआमालाई अब हामी यस्तो परियोजना बनाउन लागेका छौँ भनेर सुनाइरहँदा बुवा र आमाको वाक्य रोकिएको थियो। बुबाले भावुक हुँदै भन्नुभयो, ‘बाबु, तिमीहरु आफ्नो काम नगरी हरेक पटक किन जोखिम उठाइरहन्छौ?’ कहिले जवाफ नफर्काउने मैले पहिलो पटक जवाफ फर्काउँदै भनेँ– बुवा यदि यो देशमा कसैले पहिले नै यस्तै जोखिम उठाइदिएको थियो भने आज हजुरले यो प्रश्न मलाई गरिरहनु पर्दैन थियो होला। बुवाको वाक्य रोकिएको थियो। सायद उहाँले देशको अवस्थालाई सम्झिनु भयो होला। हामी पनि अहिले देशको अवस्थालाई सम्झिरहेका छौँ।
१७ सय पैसा बोकेर राजधानी छिरेको मलाई र मेरो परिवारलाई यो ५ अर्ब निकै ठूलो रकम हो। तर सरकारको लागि यो रकम सामान्य हो जस्तो लाग्छ। नमूना नेपालको यो अवधारणा प्रस्तुत गरिरहँदा मुटुमा निकै डर लागिरहेको छ। यत्रो रकम कसरी जुटाउने होला? सायद मेरो बुवा र आमाको चिन्ता पनि यही थियो। एकैचोटि सुन्दा ठुलो होला यो रकम। तर हामी पुग नपुग तीन करोड नेपालीले मात्र दुई सय प्रतिव्यक्ति सहयोग गर्दा पनि ६ अर्ब जुट्दो रहेछ। हामीले अनुमान गरेको भन्दा एक अर्ब बढी। आज पनि ४०/४५ लाख नेपाली विदेशी भूमिमा छन्। उनीहरु प्रतिव्यक्ति दुई हजार मात्र दिने हो भने पनि ८/९ अर्ब जुट्छ। हो, हामी यसरी नै विश्वस्त भएका हौँ र आँट गरेका हौँ। यो रकम जुट्छ भन्ने विश्वासका साथ हामीले यो आँट गरेका छौँ। अब विश्वभरबाट लाखौँ पर्यटक नेपाल घुम्न आउँछन्। सबैजना सबै ठाउँमा नपुगे पनि नमूना नेपालमा शतप्रतिशत पुग्नेछन् र भन्नेछन्, ‘गौतम बुद्ध त नेपालमै जन्मेका हुन्।’
आज हामी नेपाली विश्वभरी छरिएका छौँ। विदेशी भूमिमा सम्पन्न भएका पनि छौं। हाम्रो सन्तान त्यहीँ जन्मिएका छन्। जसलाई नेपाल चिनाउनु छ, देखाउनु छ। बुझाउनु छ। तीनै नानीहरुका लागि अध्ययनको केन्द्र हो नमूना नेपाल। नेपाली मन र धनले हामी विकसित नेपाल बनाउन सक्छौँ भन्ने उदाहरण पनि हो, नमूना नेपाल। धेरै प्रतिष्ठित व्यक्तित्वसँग भेट हुँदा सोध्ने गर्छु, कति वर्षमा हामीले विकसित नेपाल देख्न पाउँछौँ? उहाँहरुको जवाफ १०, २०, २५, ३० वर्ष हुन्छ। यतिमा नेपाल बन्ला भन्नुहुन्छ। कतिले दिएको अवधि पनि सकिसक्यो तर देश बनेको छैन। कहिले बन्छ त नेपाल? मजस्तै प्रश्न गर्ने धेरै छन्। तर सोच्नेहरु कमै होलान्। मेरो निष्कर्ष, यदि हामीले नै पहल नगर्ने हो भने पसिना नबगाउने हो भने अर्को सय वर्षमा पनि नेपाल बन्दैन।
जापान, अमेरिका, चीन कुनै पनि देश रोबोट र एलियनले बनाएका होइनन्। विदेशीले गएर बनाइदिएको पनि होइन। त्यहीँको जनताका सीप, श्रम र पसिनाले बनेको हो। पर्याप्त स्रोत, साधन नहुँदानहुँदै बनेको हो। हामीले जस्तै मानवले नै बनाएका हुन्। हामीसँग पर्याप्त स्रोत, साधन छ हामी किन सक्दैनौं? मात्र हामीसँग दृढ सकंल्प, इच्छाशक्ति, इमान्दारिता चाहिन्छ। हामी बनाउन सक्छौं, नमूना नेपाल।
यसका लागि विदेशमा बस्ने सम्पूर्ण नेपाली, नेपाललाई माया गर्ने सहयोगी मन, नेपालीभाषी, नेपाललाई माया गर्ने विभिन्न संघ संस्था, नेपाल सरकारका सम्बन्धित निकाय मिलेर सहकार्य गरौँ। अवश्य बन्नेछ नेपाल, अवश्य बन्नेछ नमूना नेपाल। हामी जग्गाको व्यवस्थापन र आर्थिक पूँजी ग्यारेन्टी भएको दिन यो परियोजनाको शिल्यान्यास गर्नेछौँ। शिल्यान्यासकै दिन कुन सालको कुन महिनामा कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने भन्ने पनि उद्घोष गर्नेछौँ। पहिलेका नमूना बस्तीहरुमा जस्तै हामी तोकिएकै समयमा कार्य सम्पन्न गर्नेछौं।
सबैको आत्मसम्मान र पहिचानको स्थल बनाउने हाम्रो सपना र तपाइँ सबै नेपाली मनहरुको परिकल्पना साकार बनाउने राष्ट्रिय पहिचान र गौरव बोकेको यस परियोजनामा तपाइँ पनि आउनुहोस्। तपाइँ–हामी जोडिएर सँगै आफ्नो क्षेत्रबाट सहयोग गरौँ। आर्थिक, सामाजिक, भौतिक, साँस्कृतिक रुपमा जोडिएर अगाडि बढौँ। देश विदेशमा रहेका विज्ञ, अनुभवी व्यक्तिहरु कुनै न कुनै रुपमा जोडिएर यो परियोजनालाई सफल बनाउन सहयोग गर्नुहुन सबैमा हार्दिक अनुरोध र अपील गर्न चाहन्छु।
(धुर्मुसले सोमबार राजधानीमा 'नमूना नेपाल' घोषणा कार्यक्रममा व्यक्त गरेको विचार।)