समाज

जीर्ण विद्युत् पोलका कारण समस्या

जीर्ण विद्युत् पोलका कारण समस्या

जेठ २३ । जिल्लाका ग्रामीण क्षेत्रमा विस्तार गरिएका विद्युत्का पोल मक्किएर ढले पनि परिवर्तन नगर्दा स्थानीय बासिन्दा त्रसित भएका छन् ।

वर्षौंदेखि गाडिएका काठे पोल मक्किएर कामै नलाग्ने अवस्थामा पुगेपछि हावाहुरीका कारण धमाधम ढल्न समेत थालेका छन् । चार वर्षअघि हावाहुरीले ढल्ने अवस्थामा पुगेको विद्युत्को पोल फेर्न बारम्बार नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा आग्रह गरेपनि कुनै सुनुवाइ नभएको सूर्योदय नगरपालिका–३ की टीका मगरले गुनासो गरे । उनले हावाले भाँच्न लागेको पोल अहिले टेको लगाएर अड्याएका छन् ।

टेको लगाएर अड्याएको पोल ढलेर करेन्ट लाग्ने त्रासले रातमा निन्द्रा समेत नलाग्ने गरेकाे  टीकाले बताए । विद्युतीकरणका लागि जिल्लाका ग्रामीण भेगमा गाडिएका पोल मर्मत नहुँदा समस्या भएको हो ।

नेपाल विद्युत् प्राधिकरण, जिल्ला समन्वय समिति, गाउँपालिका र उपभोक्ताले विद्युत् विस्तार गरेपछि पोल परिवर्तनका लागि चासो नदिनाले सात हजारभन्दा बढी विद्युतीय पोल जीर्ण अवस्थामा पुगेका छन् । तीमध्ये इलाम सदरमुकाममा मात्रै ८०० काठे पोल फेर्नुपर्ने अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरण, इलाम शाखाका प्रमुख सीताराम सिग्देलले बताए ।

पोल परिवर्तन गर्न केन्द्रबाट आवश्यक बजेट प्राप्त नहुँदा मर्मत गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । मक्किएका र भाँचिएका पोल फेर्नका लागि फलामे पोलको माग गरेपनि थोरै मात्रै प्राप्त हुनाले समस्या भएको प्राधिकरणको भनाइ छ ।

जीर्ण विद्युत् पोल

विशेष