स्वास्थ्य

नट खोल्ने रेन्चमा लिंग अड्किएपछि...

नट खोल्ने रेन्चमा लिंग अड्किएपछि...

जेठ २३ । एक चिनियाँ नागरिकको लिंग नट खोल्न प्रयोग गरिने ‘रेन्च’मा अड्किँदा चिकित्सकहरुले १७ घन्टासम्म निरन्तर प्रयास गर्दा पनि निकाल्न सकेनन् । नाम गोप्य राखिएका ३७ वर्षीय ती युवकलाई पूर्वी चीनस्थित जेजियांग प्रान्तीय अस्पतालमा भर्ना गरेको १७ घन्टापछि दन्त चिकित्सकहरु भने रेन्च निकाल्न सफल भए ।

रेन्च निकालिएपछि उनको लिंगमा नीलो डाम देखिएको र सामान्य चोटपटक लागेको छ । लिन्हाई सहरमा बस्ने ती व्यक्तिलाई उद्धार गर्न सैनिक चिकित्सक र अग्नि नियन्त्रकसमेत आएको तर कोही सफल नभएपछि अन्त्यमा दन्त चिकित्सकको सहयोग लिइएको ‘पिपुल्स डेली चाइना’ले जनाएकोे छ ।

 फलामको काम गर्ने ती व्यक्तिको लिंग रेन्चमा अड्किएपछि जुन २ तारिखको राति साढे ९ बजे स्थानीय टाएझौ अस्पताल पुर्‍याइएको थियो । तर, त्यहाँ लिंगबाट रेन्च छुटाउने कुनै उपाय नभेटिएपछि प्रान्तीय अस्पताल लगिएको जनाइएको छ ।

सुरुमा चिकित्सकहरुले शल्यक्रियामार्फत् लिंगमा रहेको रगतको प्रवाह कम गरी रेन्च निकाल्ने सुझाव दिएका थिए । तर, शल्यक्रियाका लागि अभिभावकले मञ्जुरी दिएपनि अस्पतालमा आएर हस्ताक्षर गर्न असमर्थ भएपछि शल्यक्रिया गर्न नसकेको अस्पतालले उल्लेख गरेको छ ।

त्यसपछि चिकित्सकले थप सहयोगका लागि लिन्हाइ अग्नि नियन्त्रकलाई बोलाए । तर, अग्नि नियन्त्रकले पनि फलाम काट्ने ग्रिन्डर प्रयोग गर्न नसकिने र प्रयोग गरिए बिरामीलाई ठूलो नोक्सान पर्नसक्ने बताएपछि अस्पतालले आपत्कालीन छलफल गरेको अस्पतालले उल्लेख गरेको छ ।

 छलफलमा दन्त चिकित्सकले समस्या समाधान गर्नसक्ने निष्कर्ष आएपछि दुई दन्त चिकित्सक झौउ जी र सि जेंगशेंलाई अस्पताल बोलाइएको थियो । ३० मिनेटमा आइपुगेका दुबै दन्त चिकित्सकले उच्चगतिको अत्याधुनिक डेन्टल ड्रिलको प्रयोग गरी सफलतापूर्वक लिंगमा अड्किएको रेन्चलाई निकालिएको जेजियांग प्रान्तीय अस्पतालले उल्लेख गरेको छ ।

डा. झौउ जीले उक्त डेन्टल ड्रिल तापशोषक र उच्चगतिमा हड्डी तथा दाँत काट्नका लागि प्रयोग गरिने बताए । अस्पतालले दन्त चिकित्सकहरुको निगरानीमा डेन्टल ड्रिल र अग्नि नियन्त्रकसहितको सहयोगमा ३० मिनेट लगाएर उक्त रेन्च काटेर सफलतापूर्वक निकालिएको र ती व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ ।

विशेष