विचार

विगत हेर्दा त शेरबहादुरको ध्वस्त नै छ, आशा गरौं यसपटक चुनाव गराउँछन्

मधेसलाई ठेक्का सम्झिने दलहरुले एमाले मधेस विरोधी हो भन्छन्

विगत हेर्दा त शेरबहादुरको ध्वस्त नै छ, आशा गरौं यसपटक चुनाव गराउँछन्

भानुभक्त ढकाल, प्रमुख सचेतक नेकपा एमाले
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाप्रति धेरैले के गर्ने हुन् कसो गर्ने हुन् भन्ने व्याप्त आशंकाहरु छन् । हामीले पनि संसद अवरुद्ध गरेर हाम्रा केही विशेष चासोहरुमा कांग्रेस माओवादीलाई प्रतिबद्ध हुन भन्यौं । कांग्रेस माओवादीले २०७४ साल माघ ७ गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन गराउने प्रतिबद्धता जनाएपछि संसद अवरोध खोलेर देउवालाई प्रधानमन्त्री हुने बाटो खोलिदिएका हौं ।

देउवाको विगत जस्तो भए पनि उनी अब निर्वाचनबाट भागेर कतै जान सक्ने छैनन् । निर्वाचनको अर्को विकल्प पनि छैन । पहिले देउवा कांग्रेस संसदीय दलको नेता मात्रै थिए । अहिले सभापति पनि उनै छन् । प्रधानमन्त्री पनि भएका छन् । यसकारण उनले विगतका कमजोरी सच्याएर, परिपक्व भएर निर्णय गर्नेछन् भन्ने मैले आशा गरेको छु ।

मंगलबार संसदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले शेरबहादुर देउवालाई राजाले होइन संसदले प्रधानमन्त्री बनाएको उल्लेख गरे । यसकारण उनले चाहेर पनि लोकतान्त्रिक व्यवस्थाभन्दा बाहिर नजालान भन्ने हाम्रो अपेक्षा हो । विगतमा जे भयो अब पनि त्यही हुनेवाला छ भनेर शंका गर्नु हुँदैन । उनले गर्ने काम हेर्दै जाने हो ।

नयाँ सरकारमा मधेस केन्द्रीत राजनीति गरिरहेका दलहरुले पनि समर्थन गरेका छन् । उनीहरुले निरन्तर एउटा पोल वा पक्षलाई समर्थन गर्दै आएका छन् । कसैलाई समर्थन भन्दा पनि एमालेको विपक्षमा उनीहरुको अडान यथावत छ । एमालेले राष्ट्रियता, जनजीवीका, समृद्धिका सवालमा लिएको अडानमा उनीहरु प्रतिबद्ध छैनन् । यस्तो प्रतिबद्धता कसैले देखाएको उनीहरुलाई मन पर्दैन । एमालेसँग फरक विचार राख्ने दलहरुले विपक्षी पोलमा मतदान गर्नु स्वभाविक पनि हो ।

समग्रमा एमालेलाई एक्लो बनाएर राष्ट्रहितलाई ओझेलमा पार्ने प्रयास भइरहेको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पनि एमालेलाई सिध्याउने समाप्त पार्ने योजना सत्तारुढ दलहरुले बनाएका थिए । तर एमाले एक नम्बर भएर अगाडि आयो । मधेसमा पनि एमाले मुक्तको नारा दिइएको छ ।

उनीहरुलाई यही भाकामा गीत गाउन मन लाग्छ भने हामी के गर्न सक्छौं ? यही भाकामा उनीहरु गीत गाइरहन्छन् हामी जनतामाझ गइरहन्छौं । जनताको हितकालागि काम गरिरहन्छौं । मधेस एमालेमुक्त होइन अब एमालेयुक्त हुनेछ ।

एमालेले मधेसका लागि जे जस्ता कार्यक्रम ल्यायो, त्यो मधेसका जनताले वास्तवमै थाहा पाए भने उनीहरुको खेल समाप्त हुन्छ । एमालेले मधेसको हितमा गरेको काम जनताले थाहा नपाउन भनेर विभिन्न दूष्प्रचार गर्ने काम भइरहेको छ ।

मधेसका तमाम उत्पीडित जनताको ठेक्का लिन पल्केका, उनीहरुको नाममा आफै मस्ती गर्न पल्केका मानिसहरुको झुन्डले अहिले एमालेको विरोध गरेका छन् । मधेसमा लाखौ मानिस गरिब छन् । उत्पीडित छन् । तर राज्यका सबै निकायमा हेर्नुहोस त एक विशेष जातिको मात्रै वर्चश्व छ । यस्तो किन ? किनकी उनीहरु ती सोझा इमान्दार जनताको ठेक्का लिएर आफै राज गरिरहेका छन् । एमालेले यस्तो हुँदैन भन्दा उनीहरु एमाले विरोधी भएका हुन् ।

जनताको हृदयमा बसिसकेको पार्टीलाई मधेसबाटै मुक्त गर्छौ भन्नेहरुप्रति दया लाग्छ । हेर्दै जानुहोला दोस्रो चरणको निर्वाचनमा पनि नेकपा एमाले नै पहिलो हुनेछ । मधेसमा पनि एमालेकै वर्चश्व हुनेछ ।

एमालेले मधेसमा पार्टी प्रवेश कार्यक्रम चलाएको कुरालाई स्वभाविक मान्नु पर्छ । लोकतन्त्रमा आउने जाने भइरहन्छ । जनतामा भिजेका नव आगन्तुकलाई पनि हामीले टिक दिएका छौं स्थानीय तहको निर्वाचनका लागि । यसको मतलव जो नयाँ प्रवेश गर्छ सबैलाई एमालेले टिकट दिएको भनेर बुझ्न पनि हुँदैन । किनभने लामो समयदेखि पार्टीलाई योगदान दिएका कार्यकर्ताहरुले पनि अवसर पाउनेछन् । पाएका पनि छन् ।

हिजो मंगलबार नयाँ सरकार गठन भयो । २५ वर्षमा २६ वटा सरकार गठन भएका छन् । यसले हामी बहुदलीय संसदीय व्यवस्थामा सुसंस्कृत भइसकेका छैनौ भन्ने देखाउँछ । मुलुकलाई ठप्प पारेर एक वर्षभन्दा कम आयुको सरकार गठन गर्नुको अर्थ रहँदैन । राजनीतिक स्थायित्व बिना समृद्धि सम्भव छैन ।

राजनीतिक अस्थिरताले मुलुकलाई बरबाद पारिरहेका छ । राजनीतिक स्थिरता हुने किशिमको व्यवस्था संविधानमा गर्ने भन्ने विषय पनि थियो । तर त्यसमा सहमति हुन सकेन । कम्तिमा एक पटक सरकार गठन भएपछि निश्चित समयसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाईने व्यवस्था गरौं भन्ने पनि थियो । त्यो पनि हुन सकेन । अब भएको व्यवस्थालाई परिष्कृत गर्दै राजनीतिक स्थायीत्व, आर्थिक समृद्धिको बाटोमा जानुको विकल्प हामीसँग छैन ।
(नेकपा एमालेका प्रमुख सचेतक ढकालसँग गरिएको कुराकानीमा आधारित)

 

विशेष