मुख्य समाचार

तरकारीखेतीबाट मनग्य आम्दानी

तरकारीखेतीबाट मनग्य आम्दानी

जेठ २५ । धान र गहुँखेतीमा मात्र ध्यान केन्द्रित गरेका इन्द्रबहादुर ऐरले पछिल्ला वर्षमा तरकारीखेतीलाई व्यावसायिक रुपमा अङ्गालेका छन् । 

कञ्चनपुरको बेदकोट नगरपालिका–१ का ऐर विगत चार वर्षदेखि १२ बिगाहा खेतमा अन्नबाली छाडेर तरकारीखेती गर्दै आएका छन् । उनले उत्पादन गरेका तरकारी स्थानीय बजार र भीमदत्तनगरको मण्डीमा खपत हुन्छ ।

“मैले उत्पादन गरेको तरकारी काठमाडौँको कालीमाटीसम्म पुग्छ,” उनले भने । हाल उनले दुई बिगाहा खेतमा गोलभेँडामात्रै फलाएका छन् । अन्नबाली भन्दा तरकारीखेतीबाट मनग्य आम्दानी गरेको उनी बताउँछन् ।

“तरकारीखेतीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुन्छ,” ऐरले भने । बाह्रैमास तरकारी उत्पादनमा जुट्नुभएका ऐरले तरकारी रोप्ने बेलामा ६० देखि ८० जना मजदुरलाई रोजगारी दिँदै आएका छन् । सुरुवातमा एक बिगाहाबाट तरकारीखेती सुरु गर्नुभएका एरेलाई अहिले तरकारी बिक्री गर्न कुनै समस्या छैन ।

“उचित समयमा बीउबिजन पाउन समस्या छ,” ऐरले भने । तरकारीखेतीका लागि विभिन्न कृषिविज्ञसित परामर्श गर्ने गरेको उनको भनाइ छ । उनले उत्पादन गरेका तरकारी बुटवल, नेपालगन्ज, काठमाडौँदेखि सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा समेत खपत हुने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयले समेत तरकारी उत्पादनका लागि सामग्री उपलब्ध गराउँदै आएको छ । धान, गहुँभन्दा तरकारीखेतीमै श्रम गरे बिदेशिनु नपर्ने ऐर बताउँछन् । सरकारले तरकारीखेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै आएका किसानलाई आवश्यक सहयोग गर्नुपर्ने उनको माग छ ।

tarkari kheti

विशेष