मुख्य समाचार

सडक दुर्घटना न्यूनीकरणका लागि स्टिलबार

सडक दुर्घटना न्यूनीकरणका लागि स्टिलबार

जेठ २५ । विश्व बैंकको करिब रु २० करोड सहयोगमा सुरु भएको सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा स्टिलबार स्टिल क्रस बेरियर लगाउने कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म सो कार्य ८८ प्रतिशत सम्पन्न भएको छ ।

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा सडक तथा ट्राफिक सुरक्षा योजनाअन्तर्गत जयपृथ्वी राजमार्ग, दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको सतबाझ झुलाघाट सडकखण्डमा स्टिलबार लगाउने कार्य सम्पन्न भइसकेको छ । महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझदेखि दार्चुला सदरमुकाम खलंगा जोड्ने सडकखण्डको २६।५ किमी सडकमा स्टिलबार लगाउने कार्य हाल जारी छ ।

निर्माण कार्यको ठेक्का पाएको गौरी पार्वती सूर्य जेभी कन्सट्रक्सनले तीनवटै राजमार्गका दुर्घटना हुनसक्ने क्षेत्रमा स्टिलबार लगाइरहेको छ । खोडपेदेखि बझाङ सडकखण्डको कुल १०६ किमी सडकको दुर्घटना बढी हुनसक्ने क्षेत्रमा ११।४५ किमीमा, बैतडीको सतबाँझ झुलाघाट सडकखण्डको कुल ३७ किमी सडकमध्ये बढी दुर्घटना हुनसक्ने ४।७९ किमी क्षेत्रमा स्टिलबार लगाउने कार्य सम्पन्न भइसकेको सुपरभाइजिङ कन्सल्टेन्ट पंकज चन्दले जानकारी दिए ।

यस्तै सतबाँझ गोकुलेश्वर दार्चुला सडकखण्डको कुल १२६ किमी सडकमध्ये बढी दुर्घटना हुनसक्ने १०।३३ किमी क्षेत्रमा पनि स्टिलबार लगाउने कार्य सम्पन्न भइसकेको छ । उक्त कार्य विसं २०७४ असार मसान्त अगावै सक्ने लक्ष्य रहेको छ । स्टिलबार लगाउने कार्य २०७२ फागुनदेखि सुरु भएको हो । स्टिलबार लगाउने कार्यमा ८५ जना कामदार संलग्न छन् ।

“पहाडी भेगमा साँघुरो सडकमा बढी दुर्घटना हुने सम्भावना रहन्छ,” चन्दले भने, “स्टिलबार लगाइसकेपछि दुर्घटनाबाट जोगिनुका साथै यात्रुले यात्रा गर्दा सुरक्षित महसुस गर्नेछन् ।” स्टिलबार लगाइसकेपछि चालक होसियार हुनुका साथै आत्मविश्वास समेत बढ्ने से१ज ६८७ जिपका चालक मानबहादुर टेरको भनाइ छ । उनले भने, “घुमाउरो बाटोमा दुर्घटनाको सम्भावना बढी हुन्छ, स्टिलबार लगाएपछि गाडी हाँक्न सजिलो हुनेछ ।”

साँघुरो सडक, भिर र घुमाउरो सडकका कारण ती राजमार्गमा पहिलो पटक गाडी चलाउने जो कोही चालक पनि डराउने गरेका टेर बताउँछन् । स्टिलबार लगाइसकेपछि उक्त समस्या हट्ने उनको विश्वास छ । से१ख १३३३ नं ट्रकका चालक धर्मानन्द जोशी स्टिलबारले ठूला सवारी साधन चलाउन सहज हुने बताउँछन् । दुर्घटना भइहाले पनि स्टिलबारले क्षति हुनबाट जोगाउने उनको भनाइ छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल पनि स्टिलबारका कारण सडकको यात्रा सुरक्षित हुने बताउँछन् । “अनपेक्षित घुम्ती र साघुँरो सडकमा स्टिलबारले दुर्घटना न्यूनीकरणमा निकै सहयोग पु¥याउँछ,” उनले भने, “रात्रि बस बढी चल्ने सडकखण्डमा सवारी साधनको चाप बढ्दै गएको अवस्थामा स्टिलबार दुर्घटना न्यूनीकरणका लागि उपयोगी सावित हुनेछ ।” दिनमा स्टिलबार तथा रातिको समयमा स्टिबारमा लगाइने रिफ्लेक्सन लाइटबाट दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्नेछ ।”

यस्तै बैतडीका हेमराज गिरी स्टिलबार लगाएपछि यात्रा सहज र सुरक्षित हुने बताउँछन् । सुदूरपश्चिमको अन्य पहाडी जिल्लामा समेत स्टिलबार लगाउनुपर्नेमा उनले जोड दिए । हाल स्टिलबारसँगै सडक सुरक्षा आयोजनाअन्तर्गतका अन्य कार्य समेत त्यहाँ भइरहेका छन् ।

stillbar

विशेष