छ दिनपछि उठ्यो दुई बालिकाको शव, पाँचजनाविरुद्ध किटानी जाहेरी
जेठ २५ । दक्षिण चितवनको माडीस्थित रामराज्यपुरका दुई बालिकाको शव छ दिनपछि आज(बिहिबार) उठेको छ । घटनाको विषयमा अनुसन्धान गरी दोषी पाइए कारबाही गर्ने प्रहरीको प्रतिबद्धतापछि आज परिवारले शव उठाएर दाहसंस्कार गरेका हुन् ।
मृतक दीपिकाकी आमा मायाँ सुनार र दीपशिलाका बुबा दिनेश दर्जीले शव बुझेर आजै देवघाटमा अन्तिम संस्कार गरेको राजनीतिक दल महिला सञ्जाल, चितवनकी अध्यक्ष संगीता भट्टराईले जानकारी दिए ।
शनिबार साथीहरुसँग वनभोज खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीय दीपशिला परियार र ११ वर्षीया दीपिका सुनारलाई पोखरीमा डुबेको अवस्थामा फेला पारिएको थियो । उनीहरुको उपचारका क्रममा सोही दिन साँझ मृत्यु भएको थियो ।
उनीहरुको शव विगत छ दिनदेखि भरतपुर अस्पतालमा थियो भने स्थानीयवासी संघर्ष समिति नै बनाएर आन्दोलित थिए । पीडित परिवारले डुबेर हैन कसैले मारेको हो भन्दै दोषीलाई पत्ता लगाई कारबाहीको माग गर्दै आएका छन् ।
घटनामा संलग्न रहेको आरोपमा पाँचजनाविरुद्ध किटानी जाहेरी परेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । किटानी परेकामा केही वनभोजमा सहभागी भएकाहरु छन् भने केही बाहिरका पनि छन् । उनीहरुको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।
dead body