अपराध सुरक्षा मुख्य समाचार

कलेज पढ्ने तीन युवती ५० लाखको अफिमसहित पक्राउ

कलेज पढ्ने तीन युवती ५० लाखको अफिमसहित पक्राउ

जेठ २५। रुपन्देहीमा कलेज पढ्ने युवतीहरूको साथबाट ५० लाख मूल्य बराबरको अफिम बरामद भएको छ । नेपाल भारत सीमा नाका बेलहियाबाट नेपाल प्रहरीले सो मूल्य बराबरको लागुऔषध अफिम सहित ३ जना युवतीलाई पक्राउ गरेको छ ।

इलका प्रहरी कार्यलय बेलहियाका प्रहरी निरीक्षक रबिन विष्टका अनुसार रुकुम घर भइ दाङमा बस्ने ३ युवतीहरू १५ केजी अफिम लुकाइछिपाई भारततर्फ लैजादै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

यसरी पक्राउ पर्नेमा २७ वर्षीया बिशमाया बुढा, १९ वर्षीया कामना पुनमगर र २१ वर्षीया सकुन्तला बुढा रहेका छन् । उनीहरूमध्ये विशमाया र सकुन्तला घोराहीमा बसेर क्याम्पस पढिरहेका विद्यार्थी हुन् । कामना लालमटियाकी बासिन्दा हुन् ।

तीनै जना युवतीहरू रात्रि बसमा चढेर बुटवलको एक होटलमा बसेका थिए । उनीहरूलाई सो अफिम सोही होटलमा दिइएको थियो । पक्राउ परेका युवतीहरूले आफूहरूलाई भांग हो बोर्डर पारी पुगाएर आएपछि ५ हजार पाउने भन्दै एकजना दाइले फोनमार्फत निर्देशन दिएको बताए । ती दाइको नाम ठेगाना भने उनीहरूलाई थाहा नभएको बयान प्रहरी समक्ष दिएका छन् ।

बरामद अफिमको बजार मूल्य ५० लाख रहेको प्रहरीले जनाएको छ । विश्वबजारमा प्रतिकेजी अफिमको मूल्य १६ हजार युएस डलर प्रतिकेजी रहेको छ ।

अफिमसहित पक्राउ परेका युवतीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा बुझाइएको इप्रका बेलहियाले जनाएको छ ।

लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार प्रतिबन्धित लागुऔषध ओसार पसार गर्नेलाई १५ वर्ष कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवानाको व्यवस्था छ ।

विशेष