देश

११ हजारकिलोमिटरको स्थलयात्रा तय गर्दै घर फर्किने तयारीमा राजदूत

११ हजारकिलोमिटरको  स्थलयात्रा तय गर्दै घर फर्किने तयारीमा राजदूत

जेठ २५ । नेपालका लागि जर्मनीका राजदूत माथियस मायर कार्यकाल सकेर आइतबार नेपाल छाड्दै छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी लन्जबाट हवाईजहाज चढेर होइन, कार चढेर सुदूरपश्चिमको महेन्द्रनगर नाकाबाट बिदा हुनेछन् । गाडी चढेर स्वदेश फर्केका सम्भवतः उनी पहिलो राजदूत हुन् ।

उनले कूटनीतिक सेवाबाट पनि अवकाश पाएका छन् । ३७ वर्षे कूटनीतिक सेवाअवधि सकेर यी कूटनीतिज्ञ शनिबार झिसमिसेमा थानकोट छाड्दै छन् । त्यो दिन लुम्बिनी बास बसेर आइतबार अपराह्न उनले महाकाली पुलबाट नेपाललाई बिदाइ गर्नेछन् । उनलाई महाकाली पुलबाट परराष्ट्र मन्त्रालका शिष्टाचार अधिकृत, स्थानीय प्रमुख जिल्ला अधिकारीसहित सरकारी अधिकारीले विदाइ गर्नेछन् ।

‘म जहाज चढेर होइन गाडी चढेर स्वदेश फर्किँदैछु’ राजदूत मायरले बुधवार जर्मन दुताबासमा कूटनीतिक संवाददातासँग भने, ‘करिब ११ हजार किलोमिटर दुरी पर्दोरहेछ, सात देखि आठ हप्तामा स्वदेश पुग्छु ।’ जर्मनीको ह्याम्बर्गका स्थायी बासिन्दा रहेका उनले आफूजस्तै एकजना अबकासप्राप्त जर्मनलाई साथमा लिँदैछन् ।

‘कहिले म हाँक्छु, कहिले उनले हाँक्नेछन्,’ राजदूतले भने । कार्यकाल समाप्तिसँगै ज्ञानेश्वरस्थित निवास छाडेर होटल बसेका पाका कूटनीतिज्ञले भने, ‘शनिबार विहानै काठमाडौंबाट गाडीमा लुम्बिनी जान्छौँ, त्यहाँ बसेर भोलिपल्ट भारत पुग्नेछु । यो मेरो जीवनको रोमाञ्चक यात्रा हुनेछ ।’

उनी भारतको अमृतसरहुँदै वागा बोर्डरबाट सोमवार पाकिस्तान प्रवेश गर्नेछन् । पाकिस्तानको बलुचिस्तान हुँदै उनी इरान, टर्की, ग्रिस, आर्मेनिया, जर्जिया, इटली, स्वीटजरल्याण्ड भएर जर्मनी पुग्नेछन् । बलुचिस्तानमा पाकिस्तानी सेनाले स्कर्टिङ गरेर उनलाई इरानको सीमा पुर्‍याउनेछ ।

इरानलगायतका अन्य देशमा उनले युनेस्कोको विश्वसम्पदा सूचीमा परेका सम्पदाहरुको अध्ययन गर्ने योजना बनाएका छन् ।

‘गाडीबाट सवार गर्ने मेरो रुची हो, मलाई रोडबाट जर्मनी जान कत्ति पनि डर छैन’ उनले सुनाए, ‘मलाई गाडीमा सवार गर्न कत्ति पनि डर लाग्दैन, सायद अर्को जुनीमा म ड्राइभर पो हुन्छु कि १’ उनले ठट्टा गरे, ‘मैले अवकास पाइसकेँ, सरकारी नियम मलाई लागू हुँदैन । सरकारले मेरो जोखिमको ख्याल पनि गर्नु पर्दैन ।’

उनले तिब्बत भएर रुस, उज्वेकिस्तान, ताजकिस्तान हुँदै फर्किने रुट पनि तय गरेका थिए । ‘तर तिब्बत हुँदै जान अड्चन महसुस भयो र अहिले भारत भएर जाँदैछु’ उनले भने, ‘जीन्दगी सधैँका लागि होइन । एकपटक यो यात्रा गरौं न त भन्ने लाग्यो । मलाई युनेस्कोको संरक्षणमा रहेका सम्पदाहरु हेर्दै फर्किने मन छ ।’ इरानका पुरातात्विक सम्पदा हेर्ने रहर उनलाई रहेछ ।

२०७१ भदौ १९ गते ओहोदाको प्रमाणपत्र बुझाएर काठमाडौंमा राजदूतको कार्यभार सम्हालेका राजदूतले यसअघि जर्मनीबाट मध्यएशिया हुँदै तासकन्दसम्म गाडीबाटै सवार गरिसकेका रहेछन् । उनी पहिलोपटक सन् १९७९ मा भारतको बम्बई हुँदै गाडी चढेर काठमाडौं आएका थिए ।

‘मपछि नेपाल आउने राजदूतलाई पनि गाडीमै आउन र फर्किन सल्लाह दिनेछु’ मायरले भने । बेल्जियमका लागि राजदूत रहेका घिस्लाइन डी हुप आगामी सेप्टेम्बरमा नेपाल आउने तय भएको छ ।

अबकास पाएलगत्तै जीवनशैली शुन्यतामा फर्किने र समस्या हुने अवस्थालाई कारयात्राले टार्ने उनको बुझाई छ । ‘आठ हप्तापछि म जर्मनी पुग्दा अवबासपछिको म बाहिर घुलमिल भइसकेको हुनेछु, त्यसपछि मलाई जिउन थप सहज हुनेछ,’ मायरले भने ।
नयाँ पत्रिका

विशेष