देश

परराष्ट्रमन्त्री महराद्वारा माछाको दाना उत्पादन उद्योग उद्घाटन

परराष्ट्रमन्त्री महराद्वारा माछाको दाना उत्पादन उद्योग उद्घाटन


असोज २६ । उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज चितवनको रत्ननगरमा निर्माण गर्न लागिएको सामुदायिक माछा दाना उद्योगको शिलान्यास गरेका छन् ।

रत्ननगर नगरपालिका–१६ स्थित रायमाझी टोलमा स्थापना गर्न लागिएको उक्त उद्योगको बारेमा जानकारी लिएका थिए । चितवन सामुदायिक माछा दाना उद्योग प्रालिका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले सरकारको ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रमअन्तर्गत नेपालकै नमूना दाना उद्योग स्थापना गर्न लागिएको जानकारी गराउनुभयो ।

सरकारले दिने भनेको रु दुई करोड ५० लाख अझै आउन नसकेको भन्दै मन्त्री महराको ध्यानाकर्षण गराएका थिए । मन्त्री महराले २५ गतेपछि रकम निकासामा समस्या हुने भन्दै आगामी आर्थिक वर्षमा निकासा गर्नुपर्ने उल्लेख गरे ।

आगामी एक वर्षभित्रमा निर्माण गरिसक्ने लक्ष्यसहित उद्योग निर्माणको शुरुवात गरिएको छ । उक्त उद्योगको क्षमता प्रतिघण्टा पाँच टन दाना निकाल्ने रहेको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए ।

अहिलेसम्म ४१ जनाबाट रु १०-१० लाखको सेयर हालिएको छ । चितवनसहित नवलपरासी, रुपन्देही, मकवानपुर र बाराका माछा किसानले समेत उद्योगमा सेयर हालेका छन् ।

हाल नेपालमा माछाको दाना स्थानीय कच्चापदार्थबाट उत्पादन हुँदै आएको छ भने भारतबाट समेत ठूलो परिमाणमा आयात हुँदै आएको छ । रत्ननगरमा दानाको उत्पादन हुन थालेपछि भने नेपाली माछापालक किसानका लागि ठूलो राहत मिल्ने जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत परशुराम यादवले बताए ।

विशेष