समाज

नेपालीको औसत ५० ग्राम मह खाने आदत

नेपालीको औसत ५० ग्राम मह खाने आदत

असार २६ । महको महत्व बुझाउने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा आज साेमबारदेखि दोस्रो मह महोत्सव सुरु भएको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले उद्घाटन गरेका सो महोत्सव असार २९ गतेसम्म मेला सञ्चालन हुनेछ ।

व्यावसायिक किट विकास निर्देशनालय र मौरीपालक कृषक समूहले संयुक्तरूपमा आयोजना गरेको महोत्सवमा २० कक्ष छन् । महोत्सव अवधिमा झन्डै रु ५० लाख महको कारोबार हुने अपेक्षा राखिएको छ ।

नेपालमा २०५२ सालदेखि व्यावसायिक मौरीपालन सुरु भएको इतिहास भएपनि २० वर्षसम्म प्रयोगशाला स्थापना नहुँदा महको अन्तर्राष्ट्रिय व्यापार गर्न सकिएको छैन – मह व्यवसायी धर्मराज श्रेष्ठले भने ।

यसअघि आयोजित एक कार्यक्रममा नेदरल्याण्ड निवासी मह व्यापारी जोन हकले नेपालमा उत्पादन भए जति मह खरिद गरिदिने आश्वासन दिँदै नेपाल सरकारबाट यसको गुणस्तरीयता प्रमाणित हुनुपर्ने बताए ।

“सरकारले मौरी व्यवसाय विकासका सहयोग पुर्याउन उपकरण खरिदमा अनुदान, मौरीको उच्च नश्ल सुधार, तालीम मौरी, घार तथा अन्य उपकरणमा अनुदान दिएको छ” व्यावसायिक किट विकास निर्देशनालयका निर्देशक हरिहर अधिकारीले भने ।

एक तथ्याङ्कअनुसार नेपालमा वार्षिक लगभग एक हजार ६०० मेट्रिक टन मह उत्पादन हुन्छ । वार्षिक रु दुई अर्बको मह निर्यात र १० हजार युवालाई पूर्ण रोजगारी दिन सकिने उल्लेख छ ।

मौरीपालनबाट करिब चार हजार घरपरिवार र करिब १० हजार जनसङ्ख्याले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएको उल्लेख छ । सरकारले मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र घोषण गरेको छ ।

नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट मह आयात गर्छ । विश्वमा ८० जातका माहुरी छन् । विश्वमा नौथरीका मौरीबाट व्यावसायिक मह उत्पादन गर्न सकिन्छ । त्यसमध्ये नेपालमा मेलिफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश खागो जातका मौरीबाट मह उत्पादन हुँदै आएको छ ।

सबैभन्दा महँगो मह भिरमौरीको हो । जुन प्रतिकेजी रु दुई हजार ५०० देखि रु तीन हजारमा र केरेनाको रु ७०० देखि रु एक हजार र मेलिफेराको रु ४०० देखि रु ५०० सम्म बिक्री हुँदै आएको छ ।

विश्वमा सबैभन्दा धेरै मह उत्पादन गर्ने देश टर्की हो । त्यसपछि क्रमशः अमेरिका, भारत र चीन पर्छन् । नेपालमा हाल प्रतिवर्ष दुई हजार ५० मेट्रिक टन मह उत्पादन हुन्छ । नेपालीको औसत प्रतिव्यक्ति ५० ग्राम मह खाने आदत छ । यद्यपि प्रत्येक नेपालीले दैनिक ७५ ग्राम मह खाने हो भने हाल उत्पादन भइरहेको महले धान्न सक्दैन । 

विशेष