कभर स्टोरी

मदन भण्डारी साइकलमै हिँड्थे, विद्यालाई किन १६ करोडको गाडी ?

मदन भण्डारी साइकलमै हिँड्थे, विद्यालाई किन १६ करोडको गाडी ?

असार २६ । राष्ट्रपतिको कार्यालयले नयाँ गाडी खरिदका लागि सरकारसँग १६ करोड रुपैयाँ मागेको खबरले चर्चाको शिखर चुमेको छ । धेरै जसो मानिसहरुले राष्ट्रपतिलाई १६ करोडको बिलासी गाडी किन चाहियो भनेर प्रश्न गर्न थालेका छन् । 

गरिब देशकी राष्ट्रपति विद्यादेवी भण्डारीले सस्तो गाडी चढेर राष्ट्रको ढुकुटी जोगाउन भूमिका खेल्नु पर्नेमा आफै किन विलासी गाडी माग गरेकी होलिन् भन्ने आम जिज्ञासा छरपष्ट भएको छ । नेकपा एमालेबाट राष्ट्रपति भएकी भण्डारीले १६ करोड माग गरेको हो वा होइन भनेर राष्ट्रपति कार्यालयले स्पष्ट पारिसकेको छैन । जसका कारण मानिसहरुले १६ करोड मागेकै हो भन्ने लख काटेका छन् । एमालेकै नेता कार्यकर्ताहरुले समेत गरिब देशकी राष्ट्रपतिले विलासी गाडी माग्नु सुहाउँदो होइन भन्दै आलोचना गरेका छन् ।

एमालेको नर्सरी संगठन अनेरास्ववियुका माधवकुमार नेपाल निकट सचिव वसिम आलमले लेखेका छन्, ‘राष्ट्रपतिज्यूका लागि १६ करोडको गाडी किन्ने प्रस्ताव अगर राष्ट्रपति कार्यालयको हो भने राष्ट्रपति ज्यूले तुरुन्त रोक्नु पर्छ । अगर यो हजुरको सहमतिमा हो भने हामीले कसम खाने हाम्रो आदर्श क. मदन भण्डारीको अपमान हुनेछ र म यसको विरोध गर्छु ।’


कतिपय एमाले कार्यकर्ताले भने राष्ट्रपतिले १६ करोडको गाडी मागेको खबर झुठो हो भन्दै बचाउ गरेका छन् । युवा संघका केपी ओली निकट नेता पर्शुराम बस्नेतले लेखेका छन्, ‘राष्ट्रपतिज्यूले १६ करोडको गाडी मागेको कुरा निराधार हल्ला हो । हल्लाको पछाडि नलागौं ।’

१६ करोडको गाडि मागिएको खबर बाहिरिएको तीन दिन भइसकेको छ । विषयलाई एमाले कार्यकर्ताहरुले स्पष्ट पार्न खोजिरहेका छन् । तर स्वयं राष्ट्रपतिको कार्यालय भने मौन छ । सामान्यतः सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले भिभिआइपीको लागि सवारी साधानको प्रबन्ध गर्छ । तर अहिलेको परिवेशमा भने राष्ट्रपति कार्यालय आफै यस विषयमा अगाडि तम्सेको छ ।

सप्तरीमा बाढीले जनताको विल्लीबाठ भएको छ । रोग भोकले जनता ग्रस्त छन् । गरिब देशको राष्ट्रपतिलाई १६ करोडको गाडी फजुल खर्च हो भनेर पनि टिप्पणी भइरहेको छ ।

केही व्यक्तिहरुले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मदन भण्डारी साइकल चढ्थे, राजमाता विद्या भण्डारीलाई १६ करोडको गाडी चाहिएछ ।’  दुई वर्षअघि राष्ट्रपतिमा निर्वाचित विद्या एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीकी पत्नी हुन् । सरकारले राष्ट्रपति चढ्ने गाडी खरिदका लागि ४ करोड रुपैया उपलब्ध गराइसकेको थियो । तर राष्ट्रपति कार्यालयले ४ करोडले नहुने १६ करोड चाहिने जवाफ सरकारलाई पठाएको छ ।

संसदबाट राष्ट्रपतिमा निर्वाचित भएकी विद्या भण्डारीमा राजमाता हुँ भन्ने भाव रहेको भनेर उनको आलोचना गर्नेहरु पनि छन् । उनलाई राष्ट्रपति कार्यालयमा भेट गर्ने जानेहरुसँग उनले देखाउने अस्वभाविक ‘राजामाता’ शैलीबाट उनकै जिल्लाका मानिसहरु पनि आजित भएर फर्केका छन् ।
–समाचार टिप्पणी

विशेष