देश

विपद् ब्यवस्थापन गर्न जाजरकोटमा गरियो कृतिम अभ्यास

विपद् ब्यवस्थापन गर्न जाजरकोटमा गरियो कृतिम अभ्यास

'ऐया..मरे...बचाउ ...बचाउ' भन्दै घाईते कराईरहेका थिए । केही समय भित्रै उद्धारका लागी उद्धारकर्मी घटनास्थल आईपुगे । उनीहरुले सवै भन्दा पहिले घटना स्थललाई रातो रिवनले घेरे । त्यसपछि घाईतेहरुलाई रातो र हरियो रिबनले ट्रयाग गरे ।

धेरै गंभिर घाईतेलाई रातो रिबनले र सामान्य खालका घाईतेलाई हरियो रिबनले बाँधेर घाईतेको स्तरीकरण गरियो । रातो रिबन बाँधिएका घाईतेलाई उद्धारकर्मीले तत्काल स्टेचरमा राखेर सुरक्षित स्थानमा ओसादै थिए । त्यहाँ घाईतेलाई प्राथमिक उपचार गर्न एउटा टोली तयारी अवस्थामा थियो ।

उनीहरु घाईतेलाई प्राथमिक उपचार गर्न ब्यस्त थिए । उता जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले घटनामा तत्काल उद्धार गर्न उद्धारकर्मी खटाउने निर्णय गरिसकेको थियो । आपतकालिन स्वास्थ्य र मनोपरामर्शको टोली पनि घाईतेहरुलाई उपचार र परामर्श दिन ब्यस्त थियो ।

घटनाको दृश्य वास्तविक जस्तो देखिने गरी प्रस्तुत गरिएपनि यो घटना कृत्रिम अभ्यास मात्रै थियो । शनिबार जाजरकोट खलंगामा जिल्ला दैवि प्रकोप उद्धार समिति र कृषि स्वास्थ्य तथा बैकल्पिक जिविकोपार्जन कार्यक्रम (पहल)को आयोजनामा भएको अभ्यासमा जिल्लाका सरोकारवाला निकायहरुले घाईते तथा उद्धारकर्मीको भूमिका निर्वाह गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयको प्राङ्गनमा भएको कार्यक्रममा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी, जिल्ला दैवी प्रकोप उद्धार समितिका पदाधिकारी र स्थानियको सहभागिता रहेको थियो । जिल्लामा हुन सक्ने दैवी प्रकोपका घटनाका बेला उद्धार, खोज र घाईतेको उपचारलाई प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको पहलका कार्यक्रम संयोजक खगेन्द्र बोहराले बताए । सचेतना अपनाउन पुर्व तयारीको लागी कृत्रिम घटना अभ्यास प्रभावकारी भएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए ।

 

विशेष