देश

सप्तरीमा आधादर्जन गाउँ डुबानमा, १५ सय परिवार जोखिममा

सप्तरीमा आधादर्जन गाउँ डुबानमा, १५ सय परिवार जोखिममा

 

असार - १७ । शुक्रबार मध्यरातदेखि परेको अविरल वर्षाका कारण सप्तरीका खाडो, त्रियुगा, जीता लगायतका नदीको बाढीले नगरपालिकाका दुईवटा वडाका साथै आधा दर्जन गाउँ डुबानमा परेका छन् ।

बाढीबाट राजविराज नगरपालिकाको वडा नं ९ र १० का साथै मैनाकडेरी, बसबिट्टी, तिलाठी, पौआ, मुसहरनिया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा मलहनिया, मधवापुर भारदह, पोर्ताहालगायतका गाउँ डुबानमा परेका छन् । गाउँमा बाढी पसेकाले तीन फिटसम्म पानी जमेको छ । अकस्मात्को बाढीले आधा दर्जन फुसको संरचना भएका घर भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, भाँडाकँुडा र अन्य सरसामान बगाएको राजविराज नगरपालिका वडा नं १० डुमरी गाउँका पर्शुराम यादवले बताए ।

उक्त वडाका डेढसय परिवार बाढीको उच्च जोखिममा छन् । एक्कासी आएको बाढीले मलेठस्थित मो यासिनको कुखुरा फार्ममा रहेका एकहजार २०० कुखुरा र अन्नपात बगाएर लगेको पीडितले बताए । मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रपनि जलमग्न हुँदा ठप्प भएको छ । बाढी औद्योगिक क्षेत्रभित्र पस्दा २० मिटर लामो पर्खाल भत्काउनुका साथै उद्योगभित्र पानी पस्दा ठूलो क्षति भएको उद्योगका सञ्चालकले बताएका छन् ।

यस्तै, रुपनी गाउँपालिका– २ मा बाढी पस्दा १०० घर डुबानमा परेका छन् । स्थानीयको खेतबारी बगाउनुका साथै पानी बस्तीमा छिरेकाले सुरक्षित स्थानको खोजीमा जुटेको स्थानीयवासी दिनेश यादवले बताए ।

गत वर्ष गाउँमा पसेको बाढीले गरेको क्षति नबिर्सँदै फेरि यो वर्ष पनि बाढीले दुःख दिन थालेको उनको भनाइ छ । त्रासका कारण स्थानीयले अन्नपात गाईगोरु लिएर सुरक्षित स्थानतर्फ जान थालेको जानकारी पनि दिनुभयो । बाढीले सडक कटान गर्दा राजविराज–कुनौली सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बाढीले जिल्लाका एकहजार ५०० परिवार प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको बताए । उनले बाढीबाट जोगाउन ठाउँठाउँमा अस्थायी बाँध बनाउने काममा प्रहरी खटिएको जानकारी दिए। उनी आफैँ पनि आज बिहानैदेखि बाढी प्रभावित क्षेत्रमा उद्धार र पीडितलाई सुरक्षित स्थानमा सार्ने काममा व्यस्त देखिएका थिए। उनले स्रोतसाधनले भ्याएसम्म बाढीबाट हुने सम्भावित क्षति रोक्न आवश्यक सबै पहल थालिएको जनाए ।

यसैबीच, जिल्लाको लौनियाँमा खोलाले बगाएर ल्याएको एक पुरुषको मृत शरीर प्रहरीले फेला पारेको छ । पहिचान खुल्न नसकेको मृतकबारे आवश्यक अनुसन्धान थालिएको प्रहरी उपरीक्षक द्विवेदीले जानकारी दिए । सडेगलेको अवस्थामा फेला परेको उक्त शव हत्या हो वा प्राकृतिक दुर्घटना हो भन्ने विषयमा प्रहरीले अनुसन्धानलाई केन्द्रित गरिरहेको उनले बताए ।

यता, जिल्लाको रुपनी गाउँपालिकाका बासिन्दाले यथाशीघ्र आफूहरुलाई सुरक्षित र भयमुक्त वातावरण बनाउन प्रशासनसँग माग गर्दै रुपनी–राजविराज सडकखण्ड अवरुद्ध पारेका छन् । वर्षायाममा प्रत्येक वर्ष बाढीका कारण ठूलो क्षति ब्यहोर्नुपर्दा पनि प्रशासनले दीर्घकालीन समाधान खोज्न नसकेकाले विरोधस्वरुप चक्काजाम गरिएको स्थानीयको भनाइ छ ।

विशेष